सप्तरीले चुम्यो गिरिजाप्रसाद कोइराला गोल्डकपको उपाधि

प्रकाशित मिति:

वीरगन्ज –  प्रथम गिरिजाप्रसाद कोइराला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरी जिल्लाले जितेको छ। आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा बारालाई २-० गोलले पराजित गर्दै सप्तरीले प्रदेश २ स्तरीय गोल्डकपको उपाधि जितेको हो। सप्तरीको जितमा सुदीप श्रेष्ठ र दिवस श्रेष्ठले एकएक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सप्तरीले दुवै गोल गरेको थियो। उपाधिसँगै सप्तरीले नगद एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। उपविजेतामा चित्त बुझाएको बाराले ७५ हजार रुपैयाँ पायो।

विजेतालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कार प्रदान गरे। प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी सप्तरीका प्रवीण चौधरी घोषित भए। यस्तै उत्कृष्ट गोलरक्षक सप्तरीकै सीताराम चौधरी र सर्वाधिक गोलकर्ता दिवस श्रेष्ठ घोषित भए। गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले माघ १८ देखि आयोजना गरेको प्रतियोगितामा प्रदेश २ का आठवटै जिल्लाले भाग लिएका थिए।