अब स्मार्ट लाइसेन्समा लेमिनेशन पनि !

प्रकाशित मिति:

२४ असोज, काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा इम्बोस्ड प्रकृतिको अक्षर नहुने भएको छ ।

ठूलो तामझामका साथ ल्याइएको स्मार्ट लाइसेन्समाथि सुरुदेखि नै प्रश्न उठेको छ । नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको हातमा पुगेको खुलेपछि सर्वोच्च अदालतले त्यसलाई सच्याउन आदेश दिएको थियो ।

स्मार्ट लाइसेन्सको गुणस्तर पनि कम छ । यसका बाबजुद अर्को लाइसेन्स नआएकाले सेवाग्राही त्यही लाइसेन्स लिन बाध्य छन् । त्यो पनि समयमै पाइँदैन । हाल ६ लाख बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि हात पर्न मुस्किल छ ।

अब ‘स्मार्ट लाइसेन्स’लाई प्लास्टिकको लेमिनेशन गरेर बाँड्ने तयारी सुरु भएको छ । स्मार्ट लाइसेन्सको ‘ब्याक लग’ (प्रिन्ट हुन बाँकी)को समस्या समाधान गर्ने गरी मन्त्रिपरिषदले हालै मात्र मालिका इन्कर्पोरेट प्रालिलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जिम्मेवारी दिएको छ ।

मालिकाले यसअघि जस्तो ‘लेजर प्रिन्ट ‘ नगर्ने यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए । उनका अनुसार अब ६ लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट ‘ गरेरै वितरण गरिने छ । थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ ।

महानिर्देशक ढकाल भने यो प्रविधिको प्रिन्टेड अक्षर ५ वर्षसम्म नमेटिने दाबी गर्छन् । अक्षरको सुरक्षाकै लागि बाहिरबाट लेमिनेशन पनि गरिने उनले प्रष्ट्याए ।

मालिकाले कार्ड प्रिन्टका लागि यातायात व्यवस्था विभागमा मेसिन ल्याएर सर्भरमा कनेक्सन थालेको छ । मालिकालाई सुरुको ३० हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्नेछ ।

अहिले ‘ब्याक लग’ लाइसेन्स ६ लाख बढी रहेको विभागका अधिकारीहरु बताउँछन् । महानिर्देशक ढकालकाअनुसार माग धान्न दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर हाल दैनिक २ हजार पनि प्रिन्ट हुन सकेको छैन । यही कारण लाइसेन्स प्राप्तीको सबै प्रक्रिया पूरा गर्दा पनि लामो समयसम्म लाइसेन्स हात पर्दैन ।

अहिले यातायात व्यवस्था विभागका केही मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक-पटक समस्या आउनेे गरेको छ । ठूलो ‘मास प्रिन्टर’ ल्याउन टेण्डर आहृवान भएको छ तर, प्रिन्टर ल्याएर छपाई सुरु गर्न अझै ६ महिनाजति लाग्ने ढकालले बताए ।