बच्चाहरुलाई घरमै बनाएको खाजा दिने बानी बसालौं

प्रकाशित मिति:

विहान बच्चाहरुलाई के खाजा दिएर पठाउने अभिभावकलाई सबैभन्दा झन्झटिलो हुन्छ । त्यसैले पनि धेरै अभिभावक पैसा दिएर पठाउने वा विस्कुट, चाउचाउ जस्ता ड्राइफुड खाजाको रुपमा राख्ने गर्दछन् ।

शिक्षाविद् मनप्रसाद वाग्लेले बच्चाहरुलाई घरमा बनाएका खाजा खुवाउनु पर्ने सल्लाह दिन्छन् । घरबाट खाजा कस्ता खाजा पठाउने, कस्ता खाजा नखुवाउने भन्ने बारे शिक्षाविद् वाग्लेले समाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सल्लाह दिएका छन् । उनले लेखेका छन्:

१. घरमै बनाएको खाजा दिने बानी बसालौं ।

२. भुटेको मकै, भटमास, गहुँ जस्ता अन्न स्वास्थ्यको लागि पोषणयुक्त हुन्छ ।

३. बजारको तयारी खाजा स्वास्थ्यको लागि हानिकारक हुन्छ जस्तो चाउचाउ, समोशा आदि ।

४. मैदाबाट बनेका खाजा सकेसम्म नखुवाउनु बेश हुन्छ ।

५. दाँत र गिजालाई अभ्यास हुने खाजा अर्थात मज्जाले चपाउने खाजा राम्रो हुन्छ जस्तो मकै, भटमास, बदाम आदि ।

६. बिस्कुट स्वास्थ्यका हिसावले ठिक देखिए पनि फाइबर बढी भएको छान्न सक्नु पर्दछ ।

७. बजारमा सानो सानो हटकेस पाइन्छन, घरमै रोटी तरकारी बनाएर पठाउन सके एकदम राम्रो अथवा भात,जाउलो, खीर पनि उचित हुन्छ हटकेस नहुँदा भने पकाएको कुरा दिउँसो सम्म त्यति स्वस्थकर हुँदैन ।

८. चिउरा राम्रो खाजा हुन सक्छस घ्यू र चिनी मिसाईदिने हो भने मिठो पनि हुन्छ ।

९. फलफुल खाजाको लागि उत्तम विकल्प हो र सामान्य खाजाको साथमा जे भए पनि यौटा फलफुल खुवाउन सके स्वास्थ्यका लागि धेरै हितकर हुनेछ ।

१०.रियल, एप्पी, फ्रुटी, वा सोडाबाट बनेका कोक, पेप्सी जस्ता पेय पदार्थबाट बालबच्चालाई टाढा राखौं र बालस्वास्थ्यका दृष्टिकोणले शुद्ध पिउने पानी पठाउने व्यवस्था गरौँ ।