न्यू होराइजनद्वारा प्राज्ञ बुंद राना सम्मानित

प्रकाशित मिति:

बुटवल – प्राज्ञ एवं गजलकार बूंद राना न्यू होराइजन श्रष्टा सम्मान २०७६ बाट सम्मानित भएका छन् । राना रुपन्देहीका पुराना साहित्यकार हुन् । बुटवलको न्यू होराइजन माबिको ३० औं वार्षिकोत्सव अवसरमा रानालाई प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी, प्रदेश सांसद विष्णु पन्थी, विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजु, प्राचार्य लोकनाथ उपाध्याय लगायतले प्रशंसापत्र तथा २१ हजार नगदसहित सम्मान गरिएको हो ।

विद्यालयको न्यू होराइजन साहित्य परिषदले २०७४ सालदेखि साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका श्रष्टाहरु मध्येबाट हरेक वर्ष एक जनालाई सम्मान गर्दै आएको परिषदका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । परिषदले यसअघि २०७४ मा कवि अजम्बरध्वज खाती र २०७५ मा साहित्यकार रामचन्द्र भट्टराईलाई पनि सम्मान गरेको थियो । न्यू होराइजन माविले आफ्नो ३०औं वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा १० लाखको अक्षयकोषको छात्रबृत्ति वितरण गरेको छ । ४ संस्थालाइ २ लाख ५० हजारका दरले छात्रबृत्ति वितरण गरिएको हो ।

गुल्मी लिम्घाको सरस्वती मावि, गुल्मीकै रिडी प्रावि, कपिलवस्तु बाणगंगाको पञ्च आधारभूत मावि र बुटवलको इनरह्विल क्लवमा अक्षयकोष स्थापना गरेको हो । विद्यालयका प्राचार्यले लोकनाथ उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तर कहिल्यै खस्किन नदिने बताए । सो अवसरमा ३० बर्ष सेवा गरेका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्य बालकृष्ण भण्डारी र बिष्णु बस्याललाई गोल्ड मेडल दीर्घ सेवा पदकसहित सम्मान गरिएको वार्षिकोत्सव समारोहका प्रचार प्रचार संयोजक शालिकराम पौडेलले बताए ।