बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

प्रकाशित मिति:

काठमाडौँ /आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । यसै क्रममा रुकुमपूर्वमा चार हजार ५७९ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ ।तीन मात्र स्थानीय तह रहेको जिल्लाको सिस्ने गाउँपालिकामा एक हजार ४२०, भूमे गाउँपालिकामा एक हजार ५९७ र पुथा उत्तरगङ्गा गाउँपालिकामा एक हजार ५६२ पाँच वर्ष मुनिका बालबालिका छन् ।सो अभियानका लागि जिल्लामा १६ खोप कार्यकर्ता र २८८ स्वयंसेवक खटाइने बताइएको छ । खोप अभियान पहिलो चरणमा भुमेमा फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ ।

त्यसैगरी दोस्रो चरणमा फागुन १० गतेबाट १८ गतेसम्म पुथा उत्तरगङ्गा र तेस्रो चरणमा फागुन २० देखि २८ गतेसम्म सिस्नेमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुमकोटले जनाएको छ । फागुन १ गतेबाट शुरु हुन गइरहेको खोप अभियानको सम्पूर्ण तयारी सकिएको स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख शिव शार्कीले बताए ।उनका अनुसार सबै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, खोप दिने स्वास्थ्यकर्मी, स्वयंसेवक सबैलाई प्रशिक्षण दिइएको छ।