स्ववियु निर्वाचन एक महिना सर्ने

प्रकाशित मिति:

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो ।

यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन । नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताउनुभयो ।

नेविसंघ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उहाँको भनाइ छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको उहाँले जानकारी दिनुभयो । अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताउनुभयो । नेविसङ्घले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ छ ।

उहाँले सहमतिका आधारमा कार्यतालिकासहितको स्ववियु निर्वाचन मिति घोषणा गरिने र विश्वविद्यालयसित केही दिनमा नै यस विषयमा सहमति हुने बताउनुभयो । नेविसङ्घको नयाँ केन्द्रीय समितिसँग यस निर्वाचनको विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।
त्रिविका निमित्त शिक्षाध्यक्ष एवं मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. शिवलाल भुसालले पूर्वनिधारित मितिमा निर्वाचन हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीसँग छलफल गरेर केही दिनमा नै अर्को मिति तोकिने बताउनुभयो । फागुनभित्र अर्को मिति तय गर्न विश्वविद्यालयले प्रस्ताव गर्ने तर त्यसमा सहमति नजुटे चैतमा भए पनि निर्वाचन हुने उहाँले जनाउनुभयो । विश्वविद्यालयले फागुनमा स्ववियु निर्वाचन गर्ने भन्दै विद्यार्थीको परीक्षा कार्यतालिका राखेको थिएन । विश्वविद्यालयका डिन बसेर फागुन अवधिभर कुनै पनि तहको परीक्षा नराखेको भए पनि निर्वाचन हुने अवस्था नदेखिएको उहाँको भनाइ छ । त्रिविमा हरेक दुई वर्षको फरकमा स्ववियु निर्वाचन गर्ने नियम छ ।