लुम्बिनी प्रेस क्लबको चार तले भवन शिलन्यास

प्रकाशित मिति:

पुनहरि बेल्बासे/भैरहवा – भैरहवा क्षेत्रका क्रियाशिल पत्रकारहरुको साझा संगठन लुम्बिनी प्रेस क्लब रुपन्देहीले आज एक कार्यक्रमका बीच आफ्नो नवनिर्मित चार तले भवन निर्माणका लागि आज शिलन्यास गरेको छ । क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा आफ्नो भवन बनाउन लागेको हो । उक्त भवनको शिलन्यास गर्दै संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भैरहवा क्षेत्रमा रहेका पत्रकारहरुले समाचार लेखनका साथै नेपालमै पहिलो पटक न्यूज फेस्टिबल सम्पन्न गरेको र अहिले आफ्नो भवन निर्माणको काम अगाडि बढाएकोमा खुशी व्यक्त गरे ।

उनले कृषितर्फ किसान तथा अन्य नागरिक आकर्षित हुने परिस्थिति बन्ने बताएका छन् । उनले कृषिमा लाग्ने नागरिकको उद्यम नडुब्ने, मिहिनेत खेर नजाने र यो क्षेत्रमा पसिना बगाउने व्यक्ति सुरक्षित हुन्छन् भन्ने मानसिकताको विकास गराउन सरकार लागेको बताए । मन्त्री भुसालले भने, “करिब ६० वर्ष कृषि क्षेत्रले नगरेका कामहरु अब के गर्नुपर्ने हो, त्यसतर्फ म करिबकरिब खुट्टा टेक्ने स्थानमा छु, कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरुको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्नेतर्फ काम अगाडी बढाएका छौं । उनले कृषि तथा पशुपन्छी मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयहरु धेरै रहेकोले समेत बताए । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुसालले सिद्धार्थनगरबासी सामूहिक रुपमा अगाडि बढ्न संकल्प गरे ५ र ७ वर्षमै धेरै लामो यात्रा तय गर्न सकिने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पत्रकारको कलम जनता तथा विकासको पक्षमा चल्नुपर्ने बताउँदै मिडियाले गलत कुराको उजागर गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य फखरुद्दीन खानले मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएको बताए । उनले अन्य क्षेत्रबाट पनि यस्तै सहयोग भए लुम्बिनी प्रेस क्लबको भवन निर्माण कार्य छिट्टै सम्पन्न हुने बताए ।

पूर्व सांसद इस्तियाक अहमद खानले मिडियाले सरकारको कमिकमजोरी औल्याउनुपर्ने बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले क्लबलाई गाउँपालिकाबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अरु संस्थाको भवन शिलान्यास भएको समाचार लेख्ने पत्रकारहरुको आफ्नै संस्थाको भवन शिलान्यास हुनु प्रशसंसनीय रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले भवन निर्माणमा निजि क्षेत्रको साथ र सहयोग रहने बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले लुम्बिनी प्रेस क्लबले सक्रियताका साथ आफ्ना कार्यक्रमहरु अगाडि बढाएको बताए । क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के.सी.को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।