दशैँमा घर फर्किनेकोे लर्को, प्रहरीले बिभिन्न बाहाना देखाएर दुःख दिने गरेको गुनासो

प्रकाशित मिति:

असोज २४  महेन्द्रनगर ।
दशैँ र तिहार आएसँगै पश्चिमी सीमा नाका गड्डाचौकी भएर घर फर्कनेहरुको लर्को लागेको छ । नेपालीहरुको महान् चाड आएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरबाट कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर घर फर्कनहरुको भिड लागेको हो ।

रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैं, तिहारमा घर फर्कने गर्छन् । अहिले सीमा नाकामा हेर्ने हो भने दशैँ, तिहार मनाउन घर फर्किनेहरुको निकै ठूलो लर्को लागेको देखिन्छ । भारतमा रोजगारी गरि चाडपर्वको खर्च जुटाएर उनीहरु आफ्नो सरसमानसहित स्वदेश फर्किरहेका छन्। दैनिक जसो तीन हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जानकारी दिएको छ ।
कञ्चनपुर नाका भएर भारत मजदुरी गर्न जानेहरुमा सुदूरपश्चिम प्रदेशका साथै मध्यपश्चिमका दाङ्ग, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान लगायत जिल्लाका बढी छन् । उनीहरु मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, लद्दाख, जम्मु कश्मिर, दिल्ली लगायतका स्थानमा जाने गर्छन् ।

सुदूरपश्चिमका साथै मध्यपश्चिमबाट स्थानीयहरु कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन भन्ने यकिन तथ्यांक भने छैन । यद्यपि यहाँबाट कामका लागि भारत जानेहरुको संख्या लगभग ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरुले लगाउने गरेका छन् ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नुपर्ने, औषधीमुलो समेत राम्रो नपाइने भएपछि रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

भारतबाट फर्कने नेपालीहरुले दशैं–तिहारका बेलामा घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन् । तर सीमामा चेकजांँच गर्दा भारतीय प्रहरी तथा नेपाल प्रहरीले दुःख दिने गरेको उनीहरुको गुनासो रहेको छ । ‘चाडवाडमा घर फर्किदा साह्रै खुसी लाग्छ तर सीमामा प्रहरीले बिभिन्न बाहाना देखाएर दुःख दिने गरेका छन’, कञ्चनपुर बेदकोटका मोहन पन्तले गुनासो गरे ।