संसदमा आवाज : अख्तियार प्रमुखलाई महाअभियोग लगाउन प्रस्ताव

प्रकाशित मिति:

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगाउन एक सांसदले प्रस्ताव गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री एवम् समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणलाई लिएर अख्तियार प्रमुखमाथि छानबिन गर्न प्रस्ताव गरेकी हुन् ।

‘संविधानको धारा १०१ को उपधारा २ मा रहेको प्रावधानअनुसार संवैधानिक अंगका प्रमुखहरुविरुद्ध प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले हस्ताक्षर गरेपछि महाअभियोग प्रस्ताव दर्ता गर्न सकिन्छ’, सांसद गिरीले भनिन्, ‘तत्कालीन सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध यही संसदले महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । अहिले अख्तियार प्रमुखलाई किन गर्न नहुने ?’

ललिता निवासको सरकारी जग्गा प्रकरणमा भएको छानबिन र दर्ता मुद्दाको निष्पक्षतालाई लिएर अख्तियारमाथि थुप्रै प्रश्न उठेकाले आयोग प्रमुखमाथि महाअभियोग लगाउन सकिने तर्क सांसद गिरीले गरिन् । अख्तियारमा हाल नवीनकुमार घिमिरे प्रमुख आयुक्त छन्  पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूमाथि पनि छानबिन होस् र अरु कुनै पनि दोषीले उन्मुक्ति नपाउन् भनिरहँदा सरकारले नसुनेको उनले बताइन् ।