सबै घर सहजै पहिचान हुनेगरी तिलोत्तमालाई स्मार्ट सिटी बनाउन वैज्ञानिक ठेगाना प्रणाली शुरु

प्रकाशित मिति:

बुटवल  – तिलोत्तमा नगरपालिकामा कति घर छन् ? ठ्याक्कै भन्न सकिन्न । त्यस्तै नगरपालिका भित्र कति जनसंख्या छन् ? ठ्याक्कै मिलाउन गाह्रो पर्छ । जनसंख्याको आकार दिनानुदिन बढ्दो क्रमले ठ्याक्कै अनुमान लगाउन गाह्रो छ । बढ्दो सहरीकरणले घर तथा भवन बन्ने क्रम पनि तीव्र छ । घर बनेसँगै सडक, मार्ग, पथ र गल्लीहरू पनि बनेका छन् । जसका कारण घरको ठेगाना पत्ता लगाउन हम्मे हम्मे पर्छ । यही अप्ठ्यारो अवस्थालाई ध्यानमा राखी तिलोत्तमा नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली शुरु गरेको छ।

बढ्दो सहरीकरणसंगै बिकाश र योजनाको समग्र जानकारी र ब्यबस्थित नगरको परिकल्पनामा अघि बढ्ने उदेश्यले नगरले सजिलै घर तथा भवन पत्ता लगाउन सकियोस् भन्ने हेतुले मेट्रिक ठेगाना प्रणाली ल्याएको नगरका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताउनुभयो।

के हो मेट्रिक ठेगाना प्रणाली ? बाटाको चोक तथा मिलन विन्दु (दोबाटो चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घर ठेगाना पत्ता लगाउन सकिन्छ । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरि सोहि आधारमा गरिने ठेगाना प्रणालीलाई मेट्रिक ठेगाना प्रणाली भनिन्छ । मंगलबार यस कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले तिलोत्तमा नगरको वडा नम्बर-४ नयामिलमा रहेको हिमलाल पोख्रेलको घरमा नम्बर प्लेटसमेत जडान गर्नुभएको छ। पहिलो र दोस्रो चरणमा गरी नगरभित्र रहेका करिब २६ हजार घर सहजै पहिचान हुने गरी यो कार्यक्रम लागु हुने शर्माले बताउनुभयो।

पहिलो चरणमा सबै घरको वाश प्लान, बालमैत्री बाताबरण साथै घरनम्बर संगसंगै अगाडी बढाइने तिलोत्तमा नगरका सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदीप ढकालले बताउनुभयो। पहिलो चरणमा वडा नम्बर १ देखि ६ सम्म रहेका करिव १० हजार घरलाई मेट्रिक प्रणाली सहितको नम्बर प्लेट वितरण गरिने गरि कार्यक्रम अघि बढाइएको इन्जिनियर ढकालले बताउनुभयो। यस प्रणालीले बाटोको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गर्ने भएका कारण जुनसुकै मानिसलाई पनि घर पहिल्याउन सहज हुने उहाको दाबी छ ।

दुरीको आधारमा घर नम्बर राखिने भएकोले घर पहिल्याउन समस्या नहुने उहाको भनाइ छ। घरसँग जोडिएको बाटोको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दूरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पहिल्याउन सहज हुने ढकालले बताउनुभयो। ‘अबको ३ महिना सम्म पहिलो चरणको काम सकिने गरि नगरका सम्पूर्ण गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिनेछ’, उहाले बताउनुभयो।

समुद्घाटन कार्यक्रमका वार्ड नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले घरघरमा आउने गणकहरुलाई सहयोग गरिदिनुहुन सबै नगरबासीहरुमा अनुरोध समेत गर्नुभएको छ । सम्पूर्ण बिकाश निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन र योजना निर्माण गर्न यो प्रणालीले सहयोग गर्ने हुदा तथ्य तथ्याङ्क दिन सबैलाई आग्रह गर्नुभयो । अहिले वार्ड नम्बर १ देखि ६ सम्म नगरपालिकाबाट खटाइएका गणकहरुले सो तथ्यांक सहित मेट्रिक घर प्रणाली दिनेछन ।