​पोखराको जंगलमा दुई टुक्रा पारेर फ्यालेको अवस्थामा महिलाको शव फेला

प्रकाशित मिति:

पोखरा-१३ आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साँझ क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । अन्दाजी ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाले बताए ।

स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।उक्त खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५ र ४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले बताए ।

शवको प्रकृति हेर्दा करिव ४/५ दिन अगाडी घटना घटाएको हुन् सक्ने देखिएको उनले जनाए । शवको पहिचान अझै खुल्न सकेको छैन । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ । यस सम्बन्धि प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ