ज्ञवालीले गरे खनालको बिदाइ

प्रकाशित मिति:

काठमाडौं/प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ ।आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाल लगायत प्रहरी अधिकृतहरुको मंगलबार साँझ एक समारोहका बीच बिदाइ गरिएको हो ।नवनियुक्त प्रहरी महानिरीक्षकआइजी ठाकुरप्रसाद ज्ञवालीले खनाललाई बिदाइ गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिएका थिए । उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि पोखेका थिए ।प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा परिभाषित गरेको, भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको, विगत २ वर्षदेखि बेरुजु फर्छौटमा गृह प्रशासन अन्तर्गतका कार्यालयहरुमध्ये सर्वोत्कृष्ट ठहर भई पुरष्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधिन लगायतका काम भएको बताएका थिए ।सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।उनले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताए । उनले आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको अपेक्षा राखे । अवकाश लिनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको समेत आजै बिदाइ गरिएको थियो । ३० वर्षे सेवा अवधिका कारण खनाल सेवानिबृत्त भएका हुन् ।