नक्कली प्रहरी बनेर पैसा खाने तीन पक्राउ

प्रकाशित मिति:

कैलाली – नक्कली प्रहरी बनेर पैसा असुल गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली मनहेराका ३२ वर्षीय सनम भण्डारी, कैलालीकै हसनपुरका ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्बासका ३३ वर्षीय किशन सिजापति छन् ।

उनीहरूले धनगढी उपमहानगरपालीका ३, मिलनचोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा गएर आफू प्रहरी भएको भन्दै रकम माग गरेका थिए । प्रहरीका अनुसार शर्मालाई ‘भारतीय नम्बरको मोटरसाइकल चोरीको हो हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौं मोटरसाइकल लैजान्छौं भनी धम्काई’ २५ सय रुपैयाँ लगेका थिए । शर्माकै उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।