यौन सम्बन्ध राख्न नमान्दा जीवन बर्बाद गरिदिने ‘एसीड आतंककारी’

प्रकाशित मिति:

काठमाडौं, २४ असोज । जिल्ला अदालत रौतहटका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले रामबाबु पासवानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

प्रहरीको दाबीअनुसार ‘एसीड आतंककारी’ पासवानले रौतहटको चन्द्रपुर नगरपालिका ६ की सम्झनाकुमारी दास र सुस्मिता कुमारीलाई एसिड हानेका थिए ।

पासवान एसिडबाट घाइते दास दिदीबहिनीको उपचारको लागि किर्तिपुर अस्पतालमा कुरुवा नै बसेका थिए । पासवानलाई छिमेकी दिदी बहिनी १८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई एसिड प्रहार गरेको अरोपमा पक्राउ गरिएको थियो ।

७ असोजमा सम्झनाको निधन भयो । सुस्मिता अहिले पनि अस्पतालको बेडमा छिन् । गएको भदौ २६ गते राती पासवानले सम्झना र सुस्मितामाथि एसिड प्रहार गरेका थिए । घटनाको चार दिनपछि मात्रै उनी पक्राउ परेका थिए ।

घटना लगत्तै ईलाका प्रहरी चन्द्रपुरले कल डिटेल्स र पासवानको गतिविधिको आधारमा भदौ ३१ गते पक्राउ गरेको थियो । पासवानलाई अनुसन्धानका लागि २४ दिन हिरासतमा राखिएको थियो ।

सम्झनालाई उनले बारम्बार फोन गर्ने, यौन सम्बन्ध राख्नका लागि दबाबमा पार्ने काम गरेको पीडितका बुवा जादोलाल दासले बताएका थिए ।

‘यौन सम्बन्ध राख्नका लागि दबाब दिँदै आएको पछि थाहा भयो । नमान्दा मेरा छोरीहरूको यो हालत भयो’, उनले भनेका छन्,‘यस्तो घटना कसैलाई पनि नहोस् ।’

एसीड आक्रमणको आतंक कम भएको छैन । यस्ता आक्रमणकारीलाई जन्मकैद वा फाँसीको व्यवस्था हुनुपर्ने एसीड आक्रमणमा पीडित भएकी सीमा बस्नेतले बताइन् । उनीहरूको माग पनि यहि नै छ ।