दाताहरु भन्दैछन्– ‘हाम्रो जग्गा फिर्ता देउ’

प्रकाशित मिति:

बाग्लुङ – आफ्नै दैलोअगाडि बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले वर्षभरि खानपुग्ने धान फल्ने खेत निःशुल्क उपलब्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ वर्ष पूरा भएको छ । बस पार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । तर अहिलेसम्म न बसपार्क बन्यो र नत जग्गा नै फिर्ता भयो ।

उपल्लाचौरको दावगह्रामा जमिन रहेका ५१ जना मोहीले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिलाई उपलव्ध गराएका हुन् । बसपार्क सोही स्थानमा बनाउन लागिएको हो । विसं २०६० देखि २०७० को बीचमा ५१ जनाले जग्गा व्यवस्थापन समितिको नाममा आ–आफ्नो जग्गा उपलब्ध गराएको लिखत छ । नगरपालिकाले सुरुमा बसपार्कका लागि १० रोपनी जमिन खोजेको थियो ।

बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्दासम्म १७.५ रोपनी जमिन बसपार्कका लागि आवश्यक देखियो । सोही अनुसारको जमिन समितिले बसपार्कलाई उपलब्ध गराइसकेको छ । दावगह्रामा रहेको सबै जमिन एकिकृत गर्ने, बसपार्कलाई आवश्यक जमिन दिने र बाँकी जमिनको कित्ताकाट गरेर जग्गादाताहरुले लिने सहमति नगरपालिकाले जग्गा व्यवस्थापन समितिसँग गरेको थियो ।बसपार्क बनाउन करोडौं मूल्य पर्ने जमिन निःशुल्क उपलब्ध गराएका बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्न वडा कार्यालयदेखि नगरपालिकासम्म धाएका छन् । ‘हातले दिएर खुट्टालाई दुःख भयो’ जग्गा धनी सुवास केसीले भने, ‘दातालाई सम्मान गर्नु त कता हो कता यहाँ त अपमान नै धेरै भयो ।’ त्यसैले अहिले जग्गादाताहरु भन्दैछन्– ‘हाम्रो जमिन फिर्ता देउ ।’

उनीहरुले उपलब्ध गराएको जमिनमध्ये बसपार्कको आवश्यकता बाहेकको जमिन चक्लाबन्दी र कित्ताकाट गरेर उनीहरुलाई नै फिर्ता गर्ने सम्झौता यसअघि उक्त समितिले गरेको छ । जग्गा धनीले बाँकी जग्गा समयमा फिर्ता पाए आफ्नै तरिकाले लगानी गर्ने वातावरण बन्ने उनको भनाई छ । ‘बर्षौंदेखि आफ्नो जग्गा अर्कैका नाममा छ’ केसीले भने ‘न त उपयोग गर्न पाइएको छ र नत प्रतिफलको आश नै गर्न सकियो ।’

वि.सं २०७१ पुस २२ गते जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाबीच चार वर्षभित्र बसपार्क बनाइ सक्ने र बाँकी रहेको जमिन दातालाई फिर्ता गर्ने गरी १२ बुँदे सम्झौता पनि भयो । सम्झौताअनुसार बाँकी रहेको जमिनमा आवश्यक पूर्वाधार निर्माणको काम बागलुङ नगरपालिकाले गर्ने उल्लेख छ । बाँकी रहेको जग्गाभित्र आवश्यक पूर्वाधार विकासगरी सम्बन्धित जग्गा दाताहरुलाई फिर्ता गर्नुपर्ने भएकाले सो बाँकी जग्गा समेतमा एकीकृत गुरुयोजना बागलुङ नगरपालिकाले निर्माण गर्ने सम्झौता छ । उक्त सम्झौताको बुँदा नं २ मा भनिएको छ ‘गुरुयोजना बमोजिम नक्साङ्कन, बाटो, ढल, नाली तथा पानी र बिजुली जस्ता पूर्वाधार बागलुङ नगरपालिकाले निर्माण गर्ने सम्झौता गर्दछौं ।’

सहमति अनुसार जग्गा फिर्ताको काम सुरु नै नभएपछि जग्गादाताहरु तालुक निकायमा धाउन थालेका छन् । नगर विकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमा एक वर्षभित्रै बसपार्क बनाउने गरी ठेकेदारसँग ठेक्का सम्झौता गरेको थियो । विसं २०७६ कात्तिकमा निर्माणको जिम्मा पाएको कम्पनीले काम नसकेपछि आगामी असार मसान्त सम्मको लागि म्याद थप भएको छ ।

बसपार्कको लागि समय थप भए पनि सोही बसपार्क बनाउन जग्गा दिने दाताका समस्या सम्बोधन नभएको जग्गादाता गुणनिधि शर्माले बताए । नगर विकास कोषको ऋण सहयोगमा निर्माण हुने बसपार्कका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । बसपार्क भन्दा बाहिरको बाँकी जमिनमा बन्ने संरचनाको काम भने नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

‘गत वर्ष आएको ४० लाखले हामीले जग्गा सम्याउने काम ग¥यौं, यो वर्ष छुट्टिएको पैसा रातो किताबमा आउँदा ऋण भुक्तानी भन्ने शिर्षकमा पुगेछ’ बागलुङ नगरपालिका वडा नं ४ का अध्यक्ष ध्रुवबहादुर केसीले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकार कसैको नजर पुगेको छैन, म एक्लै लडेर भएन ।’ बजेटको अभावका कारण बाँकी रहेको जमिनमा बन्ने भनिएका संरचना र कित्ताकाटको काम हुन नसक्दा जग्गाधनीले जग्गा फिर्ता नपाएका हुन् ।

‘डिपिआर अनुसार सबै काम सम्पन्न गर्न ३ करोड लाग्छ’ केसीले भने ‘सामान्य कित्ताकाट गरेर जग्गाधनी पुर्जा बनाउँदा खर्च मात्रै भए पनि मोहीका समस्या बिस्तारै समाधान हुन्थे ।’ बसपार्क निर्माणका लागि निर्माण कम्पनीले ७ करोड ६६ लाख ९९ हजार रुपैयाँमा जिम्मेबारी लिएको छ । कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ समेत बनाइने छ ।

तत्कालीन समयको तुलनामा यहाँको जमिनको मूल्य आकासिएको छ । बसपार्कलाई जमिन दिएर बाँकी रहेको फिर्ता पाउने आशामा रहेका यहाँका उपभोक्ताले आफ्नै जमिनमा पाइला टेक्न नपाएको बर्षौं बितेको छ । ‘हाल यो स्थानको जग्गाको मूल्य करोडौं छ’ बसपार्क उपभोक्ता समितिका सदस्य गुणनीधि शर्माले भने । ‘बसपार्क बनाएमा जिल्ला सदरमुकाम बागलुङ बजार र जिल्लावासी सबैलाई राम्रो हुने भएकोले जग्गा दिइयो तर फिर्ता आउने जग्गाको पत्तो नलागेपछि हामी भौँतारिहएका छौँ’ जग्गाधनी भन्दैछन् ।

नगर विकास कोषले ९ करोड चार लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । उक्त रकमका लागि नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह र नगरप्रमुख जनकराज पौडेले ऋण सम्झौता गरेका थिए । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख खर्च हुनेछ । बसपार्क निर्माणकै लागि केएफ डब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण सहयोग गर्नेछ । यसरी नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बाँकी ४० लाख रुपैयाँ स्थानीय बासिन्दाको सङ्कलन हुने बताइएको छ । बसपार्क बाहेकका अन्य संरचनामा समेत लाखौँ खर्च हुने डिपिआरमा उल्लेख छ ।

बसपार्क बनेर बाँकी रहेको जमिनमा जग्गादाताको लागि कम्तिमा साढे दुई देखि पाँच आना सम्मका एक सय २७ वटा घडेरी बनाइने योजना छ । नगरपालिकाले प्राप्त रकम नदिएका कारण सम्झौताअनुसार त्यहाँ बन्ने भनिएका संरचना बनेका छैनन् । बागलुङ नगरपालिकाले भने ऋणमा बनिरहेको बसपार्क र बाँकी बन्ने संरचनाको लागि एकै पटक स्रोत जुटाउन कठिन भइरहेको जनाएको छ ।

‘यो बसपार्क नगरको मात्र नभएर सबैको दायित्वको विषय हो’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भने । उनले केन्द्र र प्रदेश सरकारसँग पनि सहयोगका लागि पहल गरेको तर आश्वासन मात्र पाएको अनुभव उनले सुनाए । आगामी आर्थिक वर्षमा केन्द्र र प्रदेशको सहयोगमा नभए नगरको स्रोत परिचलन गरेरै भएपनि जग्गादाताको समस्या समाधान गर्ने पौडेलले बताए ।

यहाँ बसपार्क गण्डकी प्रदेशकै नमुना बसपार्कका रुपमा निर्माण हुने बताइएको छ । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त सवारी साधन राख्न नपुगेको कारण यो बसपार्क प्रस्ताव गरिएको हो । उक्त बसपार्क निर्माण भएमा लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गरिने योजना छ । मध्यपहाडी लोकमार्ग बागलुङ भएर गएपछि पनि यहाँ सवारी चाप निकै बढ्न थालेको छ । बागलुङ देखि छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी र मुस्ताङ तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दुरीका सवारीका लागि यो बसपार्क सञ्चालन गर्ने योजना छ । हाल काठमाडौं, भैरहवा, चितवन, नेपालगञ्ज, काँकडभिट्टा, वीरगञ्ज लगायतका स्थानमा बागलुङ बजारबाट सवारी चल्दै आएका छन् ।

‘यो बसपार्कमा बढीमा ७० वटा बस पार्किङ गर्न सकिन्छ, त्यसैले दीर्घकाल सम्मका लागि अझै साँघुरो हुन्छ’ ईन्जिनियर मनोज शर्मा बताउँछन् । लामो दुरी र छोटो दुरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुने उनको भनाई छ । करिब १५ वर्ष अघि धान र तरकारी खेतीगर्ने गरिएको जग्गा दिएका किसानले अब केही व्यवसाय गर्न पाउने उपभोक्ता समितिका सदस्य गुणनीधि शर्माले जानकारी दिए ।

निःशुल्क जग्गा दिएकाहरुले जीविकोपार्जन गर्न सक्ने तथा दमकल, एम्बुलेन्स जस्ता साधन निर्वाध रुपमा आवतजावत गर्नसक्ने समेत बनाउने व्यवस्था मिलाइएको निर्माण समितिको भनाई छ । बस पार्किङका अतिरिक्त टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्रयाक १७ रोपनीमा बनाइने योजना छ । बागलुङ बजारमा जमिनको सीमितताका कारण पार्किङको ठूलो समस्या छ । मेला महोत्सव हुन् या कुनै कार्यक्रम हुँदा यहाँ यही समस्याले सताउँछ । बाहिरबाट बजारमा आएका सवारी पनि भद्रगोल रुपमा यत्रतत्र पार्किङ गरिरहेको देखिन्छ । त्यसैले यो समस्याको समाधानका लागि प्रस्तावित यो बसपार्कको अहिलेलाई अर्को विकल्प छैन । -रासस