बुटवलमा अनेमसंघको राष्ट्रिय सम्मेलन : ‘करिव ४ सय प्रतिनिधि सहभागिता हुने’

प्रकाशित मिति:

बुटवल – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलन अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा संघमा आवद्ध महिलाहरु जुटेको बताइएको छ । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो ।

सम्मेलनको उद्दघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले गर्ने जनाइएको छ । सम्मेलनको उद्घाटन अगाडी महिलाहरुको ¥याली निकालिने जनाइएको छ । सम्मेलनमा ७ प्रदेशबाट कारिव ४ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने अध्यक्ष पुनले बताउनु भयो । सम्मेलनको लागी महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाको लागि हाम्रो आन्दोलन, महिला हिंसा विरूद्ध ७ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरिएको छ । राष्ट्रिय सम्मेलनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । राष्ट्रिय सम्मेलन अगाडी सबै जिल्लाहरुमा भेला तथा सम्मेलन सम्पन्न गरिएको जनाइएको छ ।

सम्मेलनबाट राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने त्यसमा समुहगत छलफल गरिने जनाइएको छ । अध्यक्ष पुनका अनुसार राष्ट्रिय सम्मेलनबाटै महिला हिंसा विरुद्वको प्रतिवेदन पारित गरि चैत्र महिनादेखि अभियान सुरु गरिनेछ । सातौं राष्ट्रिय सम्मेलने महिला हिंसा विरुद्ध ठोस कार्यक्रम बनाउनुका साथै राष्ट्रियता, सीमा अतिक्रमण, एमसीसी लगायतका विषयमा प्रस्ताव पारित गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

अखिल नेपाल महिला संघले आफ्नो स्थापना कालदेखि नै महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । छोरीलाई छोरा सरह सम्पत्तिमा समान अधिकारको लागि ३ दशकभन्दा लामो समय संघर्ष गर्दै आएको दावी अध्यक्ष पुन गर्नु हुन्छ ।

२०४५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पारित घोषणा पत्रमा छोरीलाई सम्पत्तिमा समान अधिकार हुनु पर्दछ भन्ने माग समावेश गरेको भन्दै रोजगारमा समानता र समान कामको समान ज्याला, मातृत्व र प्रजनन् अधिकार, स्वास्थ्य र शिक्षामा समान हक, महिला बेचविखनको अन्त्य, घरेलु हिंसा लगायत महिला विरूद्धका सबैखाले हत्या र हिंसाको अन्त्य, राज्य सञ्चालनका सबै तहमा महिलाहरूको समान सहभागिताको माग आज पनि पुरा नभएको बताउनु हुन्छ संघका महासचिव सरस्वती पौडेल ।

महासचिव पौडेल महिलाका यिनै आधारभूत मागका विषयमा आम महिलाहरूलाई जागरूक, सचेत, संगठित गर्न र राज्यलाई महिलाका यी मागहरूको पक्षमा कानुन बनाउन दबाब दिने कार्यक्रम राष्ट्रिय सम्मेलनले तय गर्ने बताउनु भयो । महिला अधिकारपत्र राष्ट्रिय अभियान २०५१–०५२, गोलमेच सम्मेलन, अखिल नेपाल महिला राष्ट्रिय अभियान २०५८–०५९ लगायतका राष्ट्रिय अभियान अखिल नेपाल महिला संघले सञ्चालन गरेका महत्वपुर्ण ऐतिहासिक कार्यक्रम गरेको महासचिव पौडेलको दावी छ ।