बै‌ंकमा नोट साट्नेको भीड, भैरहवा अाैद्योगिक मेलामा पनि नयाँ नोट

प्रकाशित मिति:

असोज २४ भैरहवा– नेपाली हिन्दुहरूको महान् चाड दसैं तथा तिहारलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले नयाँ नोट साट्न सुरु गरेको छ। एक सय दरका एक बन्डल, अन्य साना नोट गरी गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साट्न दइिने राष्ट्र बैंक सिद्धार्थनगरले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले गत बिहीबारदेखि नै नयाँ नोट वितरण गर्दै आएको थियो। क्षेत्रीय कार्यालय सिद्धार्थनगर शाखा अन्तर्गत पर्ने ८ जिल्लामध्ये भैरहवामा राष्ट्र बैंकले नै र अन्य ७ जिल्लामा नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ।
अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक र रोल्पा तथा प्युठानमा नेपाल बैंकमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले जानकारी दिए। ‘नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता छैन’, निर्देशक पौडेलले भने ‘नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने छन्।’ ‘ती बैंकहरूले यहाँबाट लिएको पैसा सर्वसाधारणलाई वितरण गरे र गरेनन् भन्ने बारे हरेक दिन सबै शाखामा गएर नियमन तथा सुपरिवेक्षण गर्छौं।’
पहिले नयाँ नोट दिएपनि ती संस्थाले भने २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गरेको निर्देशक पौडेलले जानकारी दिए। राष्ट्र बैंकले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न, अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्ने सबैसँग अनुरोध गरेको छ।

औद्योगिक मेलामा पनि नयाँ नोट
बुटवल उद्योग वाणिज्य संघको पहलमा दसैं मेलामा पनि नयाँ नोट साट्ने व्यवस्था गरिएको छ। विगतको समयमा त्यहीका पदाधिकारी र सदस्यको सहयोगमा नयाँ नोट वितरण भएको थियो भने यस पटक देखि राष्ट्र बैकको समन्वय अनुसार उद्योग वाणिज्य संघ बुटवलको पहलमा बैक मार्फत मेला परिसर भित्र नयाँ नोट साट्ने व्यवस्था गरिएको छ।

मेला अवलोकन गर्न आउने सर्वसाधरणलाई संघले तोकेको निश्चित रकम मेला परिसरमा साट्नेका लागि हामीले नयाँ नोट दिइसकेको निर्देशक पौडेलले बताए।

दसैंमा होइन नयाँ नोट सधै पाइन्छ
नेपाल राष्ट्र बैंकमा दसैं तिहारमा मात्र होइन अन्य समयमा पनि नियमित रुपमा नया नोटहरु साट्न पाइन्छ। तर अन्य समयमा भन्दा दसैं तिहारमा नयाँ नोटको माग बढी हुने भएकाले सोही अनुरुप नयाँ नोट बजारमा पठाइने गरेको राष्ट्रबैंकले उल्लेख गरेको छ।

@नेपाललाइभ