सप्तकोसीमा सञ्चालित पानी जहाज बन्द

प्रकाशित मिति:

विराटनगर – सप्तकोसी नदीमा सञ्चालनमा आएका पानी जहाज बन्द भएका छन् । स्थानीयको अवरोध बढेसँगै सञ्चालन गर्न नसकिएको सञ्चालकले बताएका छन् ।  सप्तकोसीमा दुई वर्षअघि पानी जहाज परीक्षण गरी सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द गर्नुको विकल्प नरहेको जल यातायात व्यवसायीले बताएका छन् ।

सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सात वटा पानी जहाज चल्दै आएका छन् । बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टसन प्रालिले सात वटा पानी जहाज सञ्चालन गर्दै आएका छन् । पानी जहाज सहिदभूमिको त्रिवेणीमा रोकिएको सप्तकोसी टुरिजमका सञ्चालक राजेन्द्र कार्कीले बताए ।

उनले भने, ‘‘हामीलाई धेरै दबाब आएपछि दुई दिनदेखि जहाज बन्द गरेका हौं ।’’ कार्कीले जाहाज सञ्चालन गर्ने वातावरण बनाउन स्थानीय प्रशासन र प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गरिएको जानकारी दिएका छन् । चतराबाट बराहक्षेत्र जल यातायातले चारवटा, नेपाल रिभर, बराहक्षेत्र मरिन र सप्तकोसी टुरिजमले एक–एक जहाज सञ्चालन गर्दै आएका छन् । कार्की भन्छन्, ‘‘दैनिक चारदेखि पाँचसय यात्रुले सेवा पाइरहेका थिए ।’’  सप्तकोसीमा तीन सिटका तीन, आठ सिटका दुई, सत्तरी सिटको एक र अठार सिट क्षमताको एउटा गरी सात जहाज सञ्चालन हुँदै आएका थिए । खासगरी चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानी जहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो ।

तराई झर्ने र पहाडतर्फ जानेहरू हिँडेर जाँदा निकै लामो समय लागे पनि भोजपुरको सिम्लेसम्म १२ देखि १२ मिनेटमा पुग्न सकिन्छ । बराहक्षेत्र तीन मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।