नौ दिनको जमरा पिंधेर नित्य सेवन गर्दा विरामीका लागि फाइदा

प्रकाशित मिति:

काठमाडौँ २४ , असोज । घटस्थापना गरेर आजदेखि विधिवत रुपमा दशैं सुरु भएको छ । नौ दिनसम्म देवी भवानीको पूजा गरेपछि प्रसाद स्वरुप लगाइने टिका र जमराका लागि आज घरघरमा जमरा राख्ने गरिन्छ । दशैंमा देवीको महिमा र आधिशक्तिको चर्चा भएपनि टिकाको दिन सिउरिने जमराको छुट्टै महत्व छ ।

दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँदै आएको छ । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी त्यसमा पनि नेपालीको मात्र हो ।

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको उपयोगिता धेरै पाईन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त मानिन्छ ।

चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगलाई फाइदा पु¥याउँछ । त्यसैले त समृद्धिको प्रतिकका रुपमा जमरा लगाउने परम्परागत प्रचलन रहिआएको मान्न सकिन्छ ।