दाइजोमा छोरीले मागिन् आफ्नो तौलबराबरका किताब

१ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
442 Shares


छोरीलाई बिहे गरेर बिदा गर्दा आम रुपमा केही न केही दाइजो अथवा उपहार दिने प्रचलन छ। जसमा कतिपयले गहना, कपडा, पैसा वा कतिपयले अन्य अचल सम्पत्ति पनि दिने गरेको पाइन्छ। तर भारतको गुजरातस्थित राजकोट जिल्लाका एक पिताले आफ्नी छोरीलाई बिहेको दाइजो किताब दिँदैछन्। त्यो पनि छोरीकै तौलबराबर।

फेब्रुअरी १३ अर्थात् बिहीबार हुन लागेको छोरीको बिहेका लागि उनका पिताले २२ सय थान किताब जुटाएका छन्। राजकोटको नानमवामा बस्ने शिक्षक हरदेव सिंह जडेजाकी छोरी किन्नरी किताबकी निकै सौखिन हुन्। उनको घरमा ५ हजार किताबको लाइब्रेरीसमेत छ।

उनको बिहे वडोदराका इन्जिनियर पूर्वजित सिंहसँग हुँदैछ। पिताले छोरीलाई बिहेमा के उपहार दिउँ भनेर सोध्दा छोरीले नै आफ्नो तौल बराबर किताब दिन आग्रह गरेकी हुन्। छोरीको इच्छाअनुसार बाबुले विभिन्न किताबहरु खोजेर तयार गरिसकेका छन्। उनको दुलाहा पूर्वजित अहिले क्यानडामा बस्दै आएका छन्।

हरदेव सिंहले पहिले राम्रा किताबहरुको सूची बनाए। त्यसपछि किताब संकलन सुरु गरे। जसका लागि उनलाई ६ महिना समय लाग्यो। हरदेवले दिल्ली, काशी र बैंग्लोरसमेत पुगेर किताब संकलन गरेका हुन्। ती किताबहरुमा महर्षि वेद व्यासदेखि लिएर आधुनिक लेखकहरुका अंग्रेजी, हिन्दी तथा गुजराती भाषाका छन्। हरदेवले छोरीसँगै किताबलाई गाडीमै भरेर दुलाहाको घर पठाउने इच्छा राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया