चीनमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन १२ करोड बजेट छुट्ट्याइयाे

प्रकाशित मिति:

चीनको वुहान क्षेत्रमा फैलिएको कोरोना भाइरसको संक्रमण बढेपश्चात त्यहाँ रहेका नेपालीहरूले नेपाल फर्कन पाउनुपर्ने माग गरेपछि सरकारले इच्छुकहरूलाइ नेपाल फिर्ता ल्याउने ब्यवस्था गरेको हो । वुहान क्षेत्रमा २ सय १५ जना जति नेपाली रहेपनि १ सय ८७ जनाले नेपाल फर्कन चाहेको दूतावास स्रोतले बतायो ।

नेपाल वायुसेवा निगमका अनुसार शनिवार उद्धारका लागि पठाइन लागेको जहानमा तीनजना चालकसहित नौ जनाको टोली हुने गरी तयारी गरिएको छ । नेपालबाट जाने विमानमा चारजना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट विमान आइतबार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजले ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन । चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।

उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ । चीनस्थित नेपाली दूतावासले वुहानको ३ वटा विश्वविद्यालयमा रहेका विद्यार्थीलाई विमानस्थलसम्म ल्याउनका लागि तीन वटा सवारी साधनको व्यवस्था गरेको बताएको छ ।