उपचुनाव भए कांग्रेस उमेदवार को ? म होइन, हामी योग्य उमेदवार दिन्छौं : शर्मा

प्रकाशित मिति:

असोज २४ काठमाडौं । सत्तारुढ ने क पाका सांसद रामवीर मानान्धरले नेता वामदेव गौतमका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ खाली गर्ने घोषणा सँगै नेपाली राजनीतिमा प्रतिपक्षी नेपाली कांग्रेसले कसलाई उमेदवार बनाउँछ भन्ने चासो बढेको छ । नेता गौतमका लागि प्रतिनिधिसभा सदस्य श्रेष्ठले खाली गराउन खोजेको काठमाडौं– ७ मा कांग्रेसले खडा गर्ने सम्भावित उमेदवारहरुको चर्चापनि चलेको छ ।

तिनै सम्भावित उमेदवारको चर्चामा रहेका मध्येका एक कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने आफूले उपनिर्वाचन नलड्ने स्पष्ट पारेका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा जनताले नरुचाएका नेताका लागि जननिर्वाचित प्रतिनिधिलाई राजीनामा दिन लगाएर क्षेत्र खाली गर्नु गलत राजनीतिक संस्कार भएको टिप्पणी गरेका छन् ।

‘‘५ वर्षका लागि निर्वाचित प्रतिनिधिले जनातासँग गरेको बाचालाई ताडेर क्षेत्र खाली गराउने कुरै गलत हो । जनताले ५ वर्षसम्म तिमी संसदभन्दा बाहिर बस भनेर भनिएको मान्छेले उमेदवार बन्ने कुरापनि गलत हो । यो गलत राजनीतिक संस्कृति हो,’’ कांग्रेस प्रवक्ता शर्माले टिप्पणी गरे ।

ने क पाका नेता गौतमका लागि भनेर काठमाडौं– ७ खाली गराइए कांग्रेसले उक्त क्षेत्रमा ‘फ्रेस’ नेतालाई उमेदवार बनाउनुपर्ने उनको भनाइ छ ।

‘‘गएको निर्वाचनमा हारेका नेताहरुले खाली गरिएको क्षेत्रमा उमेदवारी दिनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा छ । म झापाको कांग्रेसको सभापति पदमा हारेपछि एक कार्यकाल मैले केन्द्रीय कार्यसमितिमा जान हुन्न भनेर उमेदवारी नदिएको मान्छे र झापाको १ नम्बरबाट मलाई जनताले संसदमा तँ जान योग्य छैनस् भनिसकेको अवस्थामा मैले अर्को ठाउँबाट संसदमा जाने कुरो हुँदैन । त्यस कारण मेरो उमेदवार हुने चाहना–इच्छा कुनै छैन्,’’ प्रवक्ता शर्माले स्पष्ट पारे ।

सत्तारुढ ने क पाका तर्फबाट प्रतिनिधिसभाका सदस्य रहेका श्रेष्ठले पदबाट राजीनामा दिन नहुने र पार्टीले पनि राजीनामाका लागि दबाब दिन नहुने उनको सुझाव छ । ने क पाले यसअघिको निर्वाचनमा पराजित नेता गौतमका लागि भनेर निर्वाचन क्षेत्र खाली गरे कांग्रेसले उपयुक्त उमेदवार उठाएर निर्वाचन जित्ने शर्माले दाबीसमेत गरे ।

‘‘जननिर्वाचित प्रतिनिधिले राजीनामा दिनुपनि हुन्न र पार्टीले पनि राजीनामा गराउनु हुँदैन । क्षेत्र खाली गराउनु हुँदैन । गरायो भने हामी त्यो क्षेत्रमा विजय हासिल गर्छौ, हामी उपयुक्त उमेदवार उठाउँछौं,’’ उनले दाबी गरे ।

प्रतिनिधिसभा सदस्य श्रेष्ठको राजीनामा स्वीकृत भएर निर्वाचन आयोगले क्षेत्र खाली भएको भन्दै निर्वाचनको घोषणा गरे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइने र बैठकले गठन गरेको संसदीय बोर्डमा छलफल गरेर कांग्रेसले उमेदवारका बारेमा निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

ने क पा नेता गौतमलाई मुलुकको प्रधानमन्त्री बन्ने ‘हुटीहुटी’ देखेर प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा तत्कालिन एमाले र माओवादीले लगाएका स्थिरताका नारा नारामै सीमित देखिएको उनले जिकिर गरे ।

‘‘वामदेव गौतम संसदमा जाने के का लागि ? वन मन्त्री बन्न त होइन, जाने त प्रधानमन्त्री बन्नका लागि जाने हो अहिले त्यो नभनिएपनि । प्रधानमन्त्री बनाउनका लागि ने क पाले यो गर्न खोजेको हो भने हिजो स्थिरताको नारा के का लागि दिएको थियो ?’’ कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरे ।

ने क पाका नेता गौतमका लागि भनेर खाली गराइन लागिएको काठमाडौं– ७ मा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अर्जुनरसिँह केसी, डा. प्रकाशशरण महत, धनराज गुरुङ, प्रदीप पौडेल, प्रवक्ता शर्मा लगायतको नाम सम्भावित उमेदवारका रुपमा चर्चामा छ ।

@बाह्रखरी