असल नागरिक निर्माण गर्ने गहना नै शिक्षा हो : पूर्व सभाषद पुन

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ  – संविधान सभाका पूर्व सभाषद नर बहादुर पुन (निरजले) शिक्षा असल नागरिक निर्माण गर्ने महत्वपूर्ण गहना भएको बताएका छन । विहिवार बागलुङको पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीको ५९ औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसलाई सम्वोधन गर्दै उनले यस्तो बताए । साथै उनले नेपालमा पितृ सतात्मक प्रचल हावी हुनुले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै नेपाल सरकार र आम अभिभावकले शिक्षा क्षेत्रमा गरेको लगानीको विद्यार्थीले सहि सदुपयोग गरि सुन्दर भविष्य निर्माण गर्नु पर्ने पुनले धारणा राखे ।

देशको भविष्य र सुन्दर अनि सभ्य समाज निर्माण गर्ने जिम्मा विद्यार्थीको हातमा रहेको भन्दै कस्तो शिक्षा आर्जन गर्ने र कुन बाटो तय गरि भविष्य निर्माण गर्ने भन्ने विषयमा विद्यार्थी जानकार हुनुका साथै लगनशिल र मेहनेती हुनु पर्ने पुनको भनाई छ । शिक्षा बिना समाजको परिकल्पना गर्न नसकिने भन्दै सबै अभिभावक, शिक्षक, विद्यालय प्रशासन शैक्षिक गुणस्तर अभिवृद्विमा केन्द्रित हुनुपर्ने उनले बताए । सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, प्रशासकीय अधिकृत तुल बहादुर वि.क, गलकोट नगर कार्यपालिका सदस्य तथा महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, यवडा अध्यक्ष तिलक घर्ती मगर, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देवेन्द्र खत्री, पुर्व प्रधानध्यापक खिम बहादुर खडकाले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा विद्यालयका चन्दादाताहरु, अक्षयकोषकर्ताहरु, जग्गादाताहरुलाई फूल माला अबिर, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

विद्यालयले लामो समय विद्यालयमा अध्यापन गरि अहिले अन्य विद्यालयमा सरुवा भएका ४ जना शिक्षकलाई विदाई समेत गरेको छ । निवर्तमान प्रधानध्यापक खिम बहादुर खडका, शिक्षक गणेश अधिकारी, कृष्ण रेग्मी र भक्त बहादुर काउचालाई भव्य विदाई समेत गरेको छ । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस पाण्डवखानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालको अध्यक्षता, विद्यार्थी दिल श्रीसको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका शिक्षक राजु काउचाले गरेका थिए ।