स्याङ्जामा दोस्रो भीरकोट महोत्सव शुरु

प्रकाशित मिति:

भीरकोट । स्याङ्जाको भीरकोटमा दोस्रो भीरकोट महोत्सव २०७६ शुरु भएको छ । भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव शुरु भएको हो । “समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने नाराका साथ प्रदेश स्तरीय औद्योगिक कृषि, पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यपार मेला बिहिवारबाट शुरु भएको छ । दोस्रो भीरकोट महोत्सवको उद्घाटन गर्दै पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले मुलुकको अर्थतन्त्र अत्यन्तै संकटग्रस्त अवस्थामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, शक्तिशाली सरकार छ तर देशको आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदै गएको छ । मेलाले स्थानीय कृषक र व्यापारीहरु लाभान्वीत हुने आफूले अपेक्षा लिएको बताउदै नेता श्रेष्ठले आँधीखोलालाई दुवै तर्फ तटबन्धन गरी खेती योग्य जमिनमा सिंचाई गर्नुपर्ने भनाई राख्नुभयो ।

सरकार कृषि, पर्यटन लगायतमा ध्यान जान भन्दा होली वाईन खाएर क्रिश्चियनको प्रचारमा लागेको श्रेष्ठको आरोप छ । वाईडवडी काण्डको कारवाही तुरुन्त सुरु गर्न आग्रह गर्दै श्रेष्ठले सरकारले ललिता निवासको जग्गा प्रकरणमा बदनियतपूर्ण खेल खेलेको जिकिर गर्नुभयो ।
उद्घाटन समारोहमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने,संविधानसभा सदस्य मोहन प्रसाद पाण्डे, गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका उपनेता एबं सांसद मेखलाल श्रेष्ठ, राष्ट्रिय सभाका पूर्ब सांसद खगेन्द्रराज रेग्मी, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, उपप्रमुख सीमा केसी कर्माचार्य, नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष संन्जिव बहादुर कोइराला, नेकपाका मिनप्रसाद कोइराला, नेपाली काँग्रेसका तोयनाथ अर्याल, सल्लाहकार गोविन्दकुमार कर्मचार्य, सन्तोष केसी, संस्थापक अध्यक्ष हर्क बहादुर गुरुङ् लगायतले बोलेका थिए । ११ दिन सम्म चल्ने महोत्सवले भीरकोट नगरीलाई देश, विदेशमा चिनाउने र नगरी भित्र रहेका कृषि र पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा मिल्ने आयोजकले दावी गरेको छ । महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सहजता प्रदान गर्ने विश्वास रहेको महोत्सव मुल आयोजक समितिका संयोजक भक्तबहादुर केसीले बताउनु भयो । कृषि उत्पादनमा बढवा दिलाउने र बजार प्रवद्धन सगै स्वरोजगार सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन महोत्सवले सफलता हासिल गर्नेमा विश्वस्त रहेको केसीको भनाई छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक भक्तबहादुर केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्वागत बरिष्ठ उपाध्यक्ष जगदिश कोइराला र संचालन महासचिव नुवादत्त अर्यालले गर्नु भएको थियो ।महोत्सवमा आँधीखोलामा डुङ्गा शयर, भलिवल प्रतियोगिता, लोपोन्मुख पञ्चेबाजा÷नौमति बाजा प्रतियोगिता, विद्यालय तथा क्लव स्तरीय नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोक भजन तथा चुड्का प्रतियोगिता एंव दैनिक रुपमा राष्ट्रिय कलारकारहरुको प्रस्तुती आर्कषणको रुपमा रहेका छन् । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । करिव ७ करोडको कारोवार गरी संघको मातहतमा ९० लाखको आम्दानी र ५० लाखको खर्च गरी बचत रकमबाट सचिवालय निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ ।महोत्सवमा स्थानीयरुपमा उत्पादित कफि, भाँडा, दुध तथा डेहेरी, अचार, महिलाद्धारा हस्तकलाका सामाग्री, अर्गानिक खाना, लत्ता कपडा, किचनका सामाग्री, अटोवेज, होटल, फेन्सी तथा लत्ता कपडा लगायतका २ सय स्टल रहेका छन् ।