जनकपुर आइपुग्यो ब्रोडगेज रेल, दुई महिनाभित्र सञ्चालनमा आउने

प्रकाशित मिति:

जनकपुरधाम – पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ।

सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी (डब्बा) सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ। सम्झौता भएको एक वर्षपछि निर्माण कार्य सुरु गरेको भारत सरकारले जयनगर–जनकपुर–कुर्था खण्ड ३५ किलोमिटर रेलमार्ग मंसिर मसान्तभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी ओझाले दिए।

‘अबको तीन साताभित्र यस खण्डको सम्पूर्ण निर्माण कार्य सकेर मंसिर मसान्तभित्र औपचारिक रुपमा उद्घाटन गरी नियमित रेलवे सेवा सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘यसका लागि आवश्यक तयारी भइरहेको छ। तयारीको गति हेर्दा निर्धारित समयमै रेलवे सञ्चालन हुनेमा कुनै शंका गर्ने ठाउँ छैन।’ कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै जयनगरसम्म रेल पुग्न थप एक वर्ष लाग्नसक्ने उनको अनुमान छ। रेलवे निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कुर्थासम्म रेलसेवा सञ्चालन भएसँगै अगाडिको कामले गति लिने बताए।

नेपालका तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणक्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो। जलपाइगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगबनी–विराटनगर १७.६५ किलोमिटर, जयनगर–जनकपुरधाम–बर्दिबास ६९ किलोमिटर, नौतुना–भैरहवा १५.३ किलोमिटर र रुपैडिहा–नेपालगन्ज १२.११ किलोमिटर रेलमार्ग भारत सरकारले निर्माण गरिदिने सम्झौता भएको थियो।

पाँच सय ४८ करोड भारतीय रुपैयाँ (करिब ८ सय ७७ करोड नेपाली रुपैयाँ) लागतमा निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गको काम दुई चरणमा भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्था स्टेसनसम्म ३५ किलोमिटर रेलमार्गको काम अन्तिम चरणमा पुगेको छ। कुर्थाबाट भंगहासम्म १७ किलोमिटर खण्डको ७५ प्रतिशत काम सम्पन्न भएको साइट इन्जिनियर ओझाले बताए। भंगहादेखि बर्दिवाससम्म अर्को १७ किलोमिटर रेलमार्ग निर्माणका लागि नेपाल सरकारका तर्फबाट रेल विभागले जग्गा अधिग्रहणको काम गरिरहेको छ। उक्त कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए।

जग्गा अधिग्रहणसम्बन्धी काम पूरा हुनेबित्तिकै उक्त खण्डमा समेत रेलमार्ग निर्माण कार्य सुरु हुने भारतीय महावाणिज्य दूत बिसी प्रधानले बताए। ‘हामी (भारतीय पक्ष) सम्झौताअनुसार समयसीमाभित्रै रेलमार्ग निर्माण सक्न प्रतिबद्ध छौं’, प्रधानले नागरिकसँग टेलिफोनमा भने, ‘रेलमार्ग निर्माणका लागि जग्गा क्लियर गरेर नेपाल सरकारले उपलब्ध गराइदिए करिब–करिब निर्माण कार्य सम्पन्न हुन्छ। बाँकी खण्डको सीमांकन गरेर हामीलाई जिम्मा लगाउनेबित्तिकै युद्धस्तरमा काम सुरु गर्छौं।’

१९९४ सालमा नेपाल सरकार र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको सम्झौताअनुसार महोत्तरीको वनबाट सालको काठ भारत ओसार्न जयनगर–जनकपुर–भंगहा ६९ किलोमिटर रेल सञ्चालन गरिएको थियो। उक्त वन समाप्त भएपछि २००७ सालदेखि मालवाहक रेल यात्रु ओसार्ने बोगी जडान गरी सञ्चालनमा ल्याइएको ओझाको भनाइ छ। सुरुमा कोइला इन्जिनबाट सञ्चालित उक्त रेल २०५१ सालदेखि डिजेल इन्जिनबाट चलाउन थालिएको थियो।

पर्साको रक्सौल खण्डमा मुलुककै पहिलो रेल चले पनि जयनगर–जनकपुर रेल लामो समयसम्म मुलुककै एकमात्र रेलको परिचय बोकेको छ। २०७१ माघमा न्यारोगेज रेलमार्ग बन्द गरी ब्रोडगेज निर्माण कार्य सुरु गरिएको थियो। दुई मुलुकबीचको समझदारी अनुसार आगामी मंसिरसम्म ब्रोडगेज रेल सञ्चालनमा आए यो नेपालकै पहिलो ब्रोडगेज रेलमार्ग हुनेछ । जोगबनी–विराटनगर खण्डमा पनि रेलमार्ग निर्मााणको काम अघि बढेको छ। पहिलोपटक रामजानकी विवाह पञ्चमी महोत्सव अवसरमा जयनगर–जनकपुर रेलसेवा सञ्चालनमा आएको स्मरण गर्दै ओझाले भने, ‘औपचारिक रुपमा रेलमार्ग सञ्चालनमा आइसकेयता विभिन्न समयमा गरी आधा दर्जनभन्दा बढी पटक प्राविधिक समस्याले रेलसेवा महिनौसम्म अवरुद्ध भयो। तर संयोग मान्नुपर्छ, हरेक पटक विवाह पञ्चमीकै दिन पुनः सञ्चालन हुनेगरेको थियो।’ नेपाल–भारत सम्झौता र निर्माण प्रगति हेर्दा ब्रोडगेज रेलमार्ग पनि आगामी रामजानकी विवाह पञ्चमी मेलाकै समयमा उद्घाटन हुने सम्भावना देखिएको उनले बताए।

जयनगर–कुर्था खण्डको ३५ किलोमिटर खण्डमा पाँच स्टेसन र तीन हल्ट राखिएको छ। जयनगर, इनर्वा, खजुरी, वैदेही र कुर्थामा स्टेशन तथा महिनाथपुर, देउरीप्रवाहा र जनकपुरधाममा हल्ट निर्माण गरिएको छ। यो खण्डमा सानो–ठूलोगरी ५६ वटा पुलपुलेसा निर्माण भएको ओझाले बताए। उनका अनुसार पहिलो चरणमा रेलसेवा सञ्चालन गर्न ३५ किलोमिटरमध्ये ३२ किलोमिटर रेलमार्ग पूर्ण तयार भइसकेको छ । जनकपुरधामदेखि कुर्थासम्म एक किलोमिटर तथा देउरीप्रवाहादेखि कनकपट्टीसम्म दुई किलोमिटर गरी तीन किलोमिटर रेलमार्ग निर्माण कार्य पनि दस दिनभित्रै पूरा हुने विश्वास उनको छ।

nagariknews bata sabhar