वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ का वडा अध्यक्ष कैलाश थापासहित ६ जनाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । उनीमाथि खानेपानी उपभोक्ता समितिको अध्यक्ष रहेको समयमा जिल्ला खानेपानी योजनाको किर्ते कागज बनाइ रकम निकासा गरेको अभियोग लागेको छ । थापाले पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक–फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको भनेर स्वीकृत नै नगराइ रकम हिनामिना गरेका थिए । उनले गैर कानूनीरुपमा उपभोक्ता समितिको अध्यक्ष बनेर झुठ्ठा कागजपत्र बनाई ६ लाख रुपैयाँ निकास गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायसँगै बिगो तथा जरिवानाको समेत माग गरिएको छ । साथै, सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन र लेखापाल सुरेन्द्रबहादुर तितजुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले पेट्कु खानेपानी वडा नं। १ देखि ६ सम्म भुक्तानी माग गर्दा प्राविधिक कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिकै अनुगमन समितिको कार्यसम्पन्न निर्णयको माइन्यूटको प्रतिलिपि र वडा समिति÷वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोरहाजिरी, बिल, भरपाईको आधारमा भुक्तानी गरेको अभियोग छ । उनीहरुले सम्झौताको मिति अघिनै काम सकिएको भनी गलत कागजातलाई आधार बनाई रकम निकासा गरेका थिए । त्यस्तै, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर लीलबहादुर पाण्डेले आयोजनाका कार्य सम्पन्न नहुँदै आयोजनालाई छुट्याइएको रकम भुक्तानीको गलत प्रतिवेदन दिएको आरोप छ । अख्तियारले लिसंखुपाखर गाउँपालिका–५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ । जोशी र श्रेष्ठले वडाध्यक्ष थापासँग चार लाख दस हजार रुपैयाँ लिई उक्त रकम श्रेष्ठको व्यक्तिगत खातामा जम गराएका थिए । एक लाख रुपैयाँमा खानेपानीको पाइप किनेको र बाँकी रकम तीन लाख १० हजार श्रेष्ठको व्यक्तिगत खातामा राखेका थिए । उनीहरु माथि सरकारी रकम व्यक्तिगत रुपमा बुझेर व्यक्तिगत तवरले लामो समयसम्म आफ्नो खातामा राखेको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

थप समाचार