चीनबाट ल्याइएका १७५ जनालाई भक्तपुर खरिपाटीमा राखियो, दिनमा २ पटक स्वास्थ्य जाँच गरिने

प्रकाशित मिति:

काठमाडौं – चीनमा कोरेना भाइरसले १५०० भन्दा धेरैको ज्यान लिएपछि नेपाल सरकार पनि एक्सनमा आएको छ । नेपालले चीनको वुहानबाट आफ्ना नेपाली विद्यार्थी लगायत सबैलाई फिर्ता ल्याएको छ । फिर्ता ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ । आज बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो । आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल आउँन अस्वीकार गरेका हुन् । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् ।

चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन् । अब यहाँ पनि उनीहरुको दिनमा २ पटक चेकजाँच हुने भएको छ । कोरोनाको लक्षण १५ दिनसम्म देखिने भएको हुँदा उनीहरुलाई आज देखि १५ दिन यसरी नै राखिने छ ।