देवदहमा संचालित महायज्ञमा दान दिनेको घुईचो

प्रकाशित मिति:

झविन्द्र देवकोटा देवदह, २५ असोज ।

रुपन्देहीको देवदह –७ शित्तलनगरमा सुरु भएको स्वर्णिम श्रीमद् देवी भागवतपाठ, श्रीमद्भागवत भक्ति महायज्ञमा श्रद्धालु भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै गएको छ । धर्मशाला तथा मन्दिरको भौतिक संरचनावृद्धि गर्ने एवं देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले संचालन भएको महायज्ञको दर्शन गर्न र दान गर्न पुग्ने भक्तजनको उपस्थिती बढेको हो । दुर्गापञ्चायतन मन्दिर संरक्षण समिति शिलतनगरको आयोजनामा बुधबारदेखि सुरु भएको महायज्ञमा दुई दिनमा एक लाख भन्दाबढी नगद संकलन भएको छ । श्रद्धालुभक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मुल समितिका संयोजक रमेशचन्द्र रेग्मीले बताउनुभयो । महायज्ञ सम्पन्न गर्नका लागि ५६ वटा विभिन्न उपसमितिहरुसँगै ७ सय ९९सदस्यिय यज्ञ सम्पादन समिति बनेको संयोजक रेग्मीले जानकारी दिनुभयो । निकट भविष्यमै निर्माण कार्यको सुरुवात गर्ने अभियानका साथमा २४ कोठा सहितको अन्डरग्राउण्ड थप एक माथिल्लो तल्ला गरि दुईतले धर्मशाला निर्माणको परिकल्पना गरेको मन्दिर संरक्षण समितिले ६ करोडको लागतमा धर्मशाला निर्माणसम्पन्न गर्ने लक्ष्य लिएको छ । यज्ञबाट एक करोड संकलन गर्ने र बाँकी ५ करोड विभिन्न सहयोगिदाताबाट रकम संकलन गरेर धर्मशाला निर्माण सम्पन्न गर्ने योजना बनेको अध्ययक्ष रेग्मीले बताउनुभयो । एक कट्ठा क्षेत्रफल भित्र ४ हजार स्क्वायर फिटमा धर्मशाला निर्माणका लागि मन्दिरले समान्य खाँका समेत निर्माण गरेको छ । यसअघि विनायज्ञ ७६ लाखको लागतमा विशाल दुर्गामन्दिर निर्माण सम्पन्न परेको दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिले आफ्नो सवा १२ कठ्ठा जग्गा क्षेत्रभित्र अहिले दुर्गामन्दिर, हनुमान मन्दिर, शिवमन्दिर, जेष्ठनागरिक मिलन केन्द्रलगायतका संरचना निर्माण गरि सकेको छ भने निकट भविष्यमै धर्मशाला निर्माण गर्ने लक्ष्य सहितको महायज्ञ संचालन गरेको हो । महायज्ञबाट १ करोड संकलन गर्ने लक्षय राखिएको छ भने यज्ञ सम्पन्न गर्नका लागि झण्डै २० लाख खर्च लाग्ने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराज मरासिनीले जानकारी दिनुभयो । ९ दिनसम्म संचालन हुने महायज्ञमा कथा व्यास नारीरत्न विदुषी अनुराधा शास्त्रीको मुखार विन्दबाट कथा प्रवचन हुनेछ । देवदहमा धर्मशालाको अभाव रहेका समयमा धर्मशाला निर्माणका लागि संचालन गरिएको महायज्ञमा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गएको सम्मान एवं प्रमाणपत्र व्यवस्थापन उपसमितिका संयोजक कृष्ण न्यौपानेले बताउनुभयो । उहाँले सक्दो दान गर्नेलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउनुभयो । महायज्ञ कार्तिक १ गतेसम्म संचालन हुनेछ ।