बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले ६७ औं स्थापना दिवस मनाउदै

प्रकाशित मिति:

बुटवल – यस क्षेत्रकै सबैभन्दा पुराना नीजि क्षेत्रको संस्था बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ६७ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईँदै छ । यस क्षेत्रका उद्योगी व्यबसायीहरुको पहलमा २००९ साल फागुन १० गते बुटवल उद्योग बाणिज्य संघको स्थापना भएको थियो ।

संघको ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान, दीपावली तथा व्यबसायिक समस्याका बिषयमा बहस अन्तरक्रिया लगायतका कार्यक्रम गरेर मनाउन लागिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघ सचिवालयमा आईतबार बसेको कार्यसमितिको बैठकले स्थापना दिवस मनाउने निर्णय गर्दै त्यसकालागि कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

संघको स्थापना दिवसको अवसरमा फागुन १० गते शनिबार संघका बस्तुगत समितिहरुको संयोजनमा रक्तदान कार्यक्रम गरिने छ । रक्तदान कार्यक्रमकालागि ईन्धन बस्तुगत समितिका सभापति नारायण खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तैगरी सोही दिन साँझ संघमा दीपावली कार्यक्रम गरिने छ भने ११ गते आईतबार व्यबसायिक समस्याका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

त्यसै कार्यक्रममा संघका पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुममध्येबाट १ जनालाई सम्मान गर्दै आएको छ । यो वर्ष पूर्वअध्यक्ष राजभण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस बाहेक पनि संघको स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्न संघलले बस्तुगत समितिहरुलाई आह्वान गरेको संघका अध्यक्ष हमालले बताउनु भयो । कार्यसमितिको बैठकपछि संघकै सचिवालयमा बस्तुगत समितिका सभापतिहरुसंग पनि स्थापना दिवसकै अवसरमा छलफल गरिएको थियो । छलफलमा बस्तुगत समितिका सभापतिहरु समितिका तर्फबाट रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।