ललिता निवास प्रकरण ,पक्राउ गर्ने बाटो खुल्यो : गच्छदारसहित १७२ विरुद्ध सिआइबीले दर्ता गर्‍यो ठगी मुद्दा

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जनामध्ये १७२ जनाविरुद्द ठगी मुद्दा दर्ता भएको छ। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेसँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको हो। ‘यो प्रकरणमा जोडिएकाहरुविरुद्द ठगी मुद्दा दर्ता भएको हो,’ सीआइबीका प्रवत्तासमेत रहेका एसपी बेलबहादुर पाण्डेले भने, ‘हामी यसबारेमा गहिरो अनुसन्धानमा छौं।’

सीआईबीले कांग्रेसका उपसभापतिसमेत रहेका विजय कुमार गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियारका पुर्वप्रमुख दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहितलाई मुद्दा चलाउन माग गरेको थियो। गृहको जाहेरी अनुसार आरोपी भनिएकाहरु अदालतबाट दोषी ठहर भए १० वर्षसम्म कैद, सम्पत्ति जफत र अख्तियारले तोकेको विगो बराबरको जरिवाना तिर्नुपर्ने छ।

सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको थियो। जग्गा खरिदबिक्रीमा संलग्‍नमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्‍न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने ब्युरो प्रहरीले जनाएको छ। ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी दिएसँगै पक्राउको बाटो खुलेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया