गाँजा खेती आम्दानीको स्रोत बन्न सक्छ

४ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


डा. रामदेव पंडित – कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो । तराईका पर्सा, बारा, सिरहा, महोत्तरी र धनुषा मात्र होइन, मध्य र पश्चिम पहाडका जिल्लामा समेत गाँजा प्रशस्त उत्पादन हुन्थ्यो । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ‘ब्रान्ड’ का रूपमा स्थापित थियो । नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समय क्रमसँगै कानुनतः प्रतिबन्ध लाग्यो । तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज उठिरहेको छ । यिनै आवाजका कारण गाँजा बहसले पुनः एक पटक स्थान पाएको छ ।
नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाइनुपर्ने बहसमा एउटै मात्र कारण अघि सारिएको छैन । एकथरीले गाँजा खुला भएमा युवा पुस्तालाई हेरोइन र अन्य फर्मास्युटिकल ड्रग्सको कुलतबाट जोगाउन सकिने तर्क गरिरहेका छन् । अर्काथरीले चाहिँ गाँजाको औषधीय गुण अगाडि सार्ने गरेका छन् । केहीले भने अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली चरेस निर्यात गरेर देशले ठूलो आम्दानी गर्ने दाबी पनि गरेका छन् ।
नेपालमा हिप्पी संस्कृति बढिरहँदा सन् १९६१ मार्च ९ (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित ग¥यो, जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो । सन्धि पक्षधर सदस्य राष्ट्रहरूले गाँजा खेती नियन्त्रणका लागि अग्रसरता लिनुपर्ने अनिवार्य व्यवस्था गर्दै औषधीय र अनुसन्धान प्रयोजन बाहेक गाँजामा प्रतिबन्ध लगाइयो । यस्तो नीति अनुसार सन्धिको पक्षराष्ट्र नेपालले गाँजामा पूर्ण प्रतिबन्ध लगाउन सहयोग नगरेको भनेर राष्ट्रसंघ असन्तुष्ट थियो नै, हिप्पी बनेर काठमाडौं आएका कतिपय अमेरिकी नागरिक गाँजा सेवन गर्न यतै बस्न थालेपछि अमेरिकाले पनि गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दियो ।अन्ततः २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगाइएको थियो । नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने अमेरिका, क्यानाडा लगायतका पश्चिमा मुलुकहरूले नै अहिले आएर प्रतिबन्ध हटाई सके पछि नेपालले पनि गाँजा खुला गर्नुपर्ने आवाज उठ्नु अस्वभाविक भन्न सकिन्न ।

अमेरिकाका १२ राज्य तथा उरूग्वे, क्यानडा, थाइल्यान्ड लगायत राष्ट्रमा गाँजा खेतीले अहिले मान्यता पाएको अवस्था छ ।गाँजा खेतीलाई खुला गर्नुपर्ने आवाज नेपालमा आइरहे पनि लामो समयदेखि यसले राजनीतिमा प्रवेश पाएको थिएन । तर, लगभग १ बर्ष अघि प्रतिनिधिसभा बैठकमा सांसद विरोध खतिवडाले गाँजालाई खुला गर्नुपर्ने धारणा राखेपछि यसमाथि बहसको थालनी भएको छ । साताअघि मात्रै संघीय संसदमा ४६ सांसदले गाँजाखेतीलाई वैधता दिनुपर्ने माग राखेका छन् । अहिले नेपालमा गाँजा खेती गैर कनुनी हो तर मधेशमा गाँजाको खेती आजसम्म पनि पूर्ण रूपले निस्तेज हुन सकेको छैन । पर्सा प्रहरीले मात्र यस वर्ष माघ महिना सम्ममा २९ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । गत आर्थिक बर्षमा २ बिघा १० कठ्ठा र त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा ४ कठ्ठा ५ धुर जग्गामा गरिएको गाँजा खेती फँडानी गरेको थियो ।नेपालमा उत्पादित गाँजा, चरेश, कच्चा अफिम भारत पुग्छ भने भारत गएको कच्चा अफिमबाट ब्राउन सुगर बनाएर नेपाल भित्र्याईन्छ । तराई–मधेशमा परम्परागत रूपमा हुँदै आएको गाँजा खेती तथा यसको सेवनलाई नियन्त्रण नगरिँदा युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेको पनि पाइन्छ । सुरूमा गाँजा सेवन गर्ने युवाहरू पछि त्यो नपाउँदा अफिम, ब्राउन सुगर, आदि विभिन्न प्रतिबन्धित औषधितर्फ आकर्षित हुने गरेका पनि पाइन्छन् ।कानुनी रूपमा खेती गर्न नपाएकोले मधेशमा अहिले बाटोघाटो नभएको तथा विकट स्थानका ऐलानी जग्गा, खोलाको बगर, उखु बालीभित्र लुकाएर गाँजाको खेती गरिने गरिएको पाईएको छ । यस्ता स्थानमा या त प्रहरीको नजर पर्दैन, या प्रहरीले देखे पनि नजरअन्दाज गर्ने प्रवृत्ति हुन्छ । पर्सा प्रहरीले मात्र ३ वर्षयता बरामद गरेको लागूऔषधमा सर्वाधिक परिमाण गाँजाकै छ । चालु आवमा ३ सय ९२ किलो गाँजा बरामद गरेको छ । यसको कारोबार र ढुवानीमा संलग्न २३ पुरूष र २ महिला गरी २५ जना पक्राउ परिसकेका छन् । गत आवमा ७ सय १७ किलो र अघिल्लो आवमा ३ सय ४८ किलो गाँजा बरामद गरिएको थियो । लागूऔषध कारोबारमा संलग्नहरू घर छाडेरै भाग्ने, लुकिछिपी बस्ने गर्दा दण्डहीनता बढ्ने भएकाले कानून बमोजिम नै लागूऔषध कारोबारीको घरजग्गा नै जफत गर्न थालिएको छ । भने अर्का तीर गाँजा खेतीलाई वैज्ञानिकता दिनुपर्ने माग संसदमा चलिरहेको छ ।

अमेरिकामा क्यान्सरका विरामीलाई पीडा कम गराउन गाँजाको प्रयोग गर्न दिइन्छ ।स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमाइका, चिली, पेरू, कोलम्बिया, इक्वेडर र लक्जेम्बर्गले पनि व्यक्तिगत रूपमा गाँजाको प्रयोग सम्बन्धी कानून खुकुलो पारेका छन् । इजरायल, अर्जेन्टिना, पोर्टोरिको, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाबेमा औषधीय रूपमा गाँजा खुला छ । बेलायतले पनि गाँजाको औषधीय प्रयोग खुला गर्नेबारे छलफल थालेको छ ।प्रतिबन्धित लागूऔषधमा सूचीकृत गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि विभिन्न मुलुकले प्रतिबन्ध हटाउने अभियान शुरू गरेका छन । अमेरिकी राज्यहरूमा करीब ११ वर्ष लगाएर गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य औषधि (पेन किलर) का तुलनामा गाँजाको गुणस्तर सबल देखाएको थियो । अध्ययन प्रतिवेदन उद्धृत गर्दै न्यूयोर्क टाइम्समा प्रकाशित विवरण अनुसार, दुखाइ कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्युको सम्भावना ४० प्रतिशतभन्दा बढी पाइएको, तर गाँजा सेवनले मृत्युदर २५ प्रतिशतमा झरेको उल्लेख छ । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एउटा शोधले शरीरमा क्यान्सरका कोष मार्न तथा लागूऔषध र रक्सीको लत छुटाउन गाँजा प्रभावकारी हुने देखाएको छ ।नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ । बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो बेला गाँजाकै प्रयोग गरिन्थ्यो । तर, गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो ।विकसित मुलुकहरूले गाँजाको प्रयोग मात्र खुला गरिरहेका छैनन्, यसको उत्पादन र निर्यातबाट अर्थतन्त्र उकास्ने योजना पनि अघि सार्दै छन् । अष्ट्रेलियाले गत वर्ष गाँजाबाट बनेका औषधि निर्यात गर्ने घोषणा गरेको छ । प्रतिबन्धित लागूऔषध, गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर विकसित मुलुकहरू धमाधम ‘गाँजा–युग’ मा फर्किरहँदा नेपालमा पनि यसलाई खुला गर्नुपर्ने बहस स्वभाविक नै छ । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया