बलात्कार प्रयासको मुद्दामा अन्तत: निर्दोष ठहर भए महरा

प्रकाशित मिति:

काठमाडौं  – पुर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमवार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुने भएका छन् ।

गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो । महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।