सुन अहिलेसम्मकै महँगो

प्रकाशित मिति:

बुटवल  – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ। गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो।

यसअघिका रेकर्डलाई तोड्दै आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो। सोमबार पनि सुनको मूल्य ७६ हजार ५ सयमा कारोबार भएको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ। त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ।महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।