कांग्रेसद्वारा प्रदेश ५ को नाम र राजधानी छिटो टुंगो लगाउन माग

प्रकाशित मिति:

बुटवल –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को  स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाठकले प्रदेशसभाको पाँचौ अधिवेशनसम्म आइपुग्दासमेत यो विषयलाई संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको भन्दै अब पनि ढिलासुस्ती गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए । ‘दुई वर्ष बित्दासम्म राजधानी र नामको टुंगो नलगाइ अनावश्यक ढिलाइ गर्ने काम भइरहेको छ,’ सांसद पाठकले भने, ‘जति घुमाउन खोजे पनि संसदबाटै छिनोफानो गर्ने हो, छिटो प्रस्ताव ल्याइयोस् अन्यथा कांग्रेसले संसद अवरुद्ध गर्छ ।’

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो । समितिले ५० लाख रुपैयाँ बढी बजेट सकेर करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ । प्रतिवेदन बुझाएको तीन महिना लाग्दा समेत उक्त विषय संसदमा प्रवेश भएको छैन । – अनलाइनखबर