चोरी धन्दा : मोटरसाईकल सहित ६ जना चोरहरु परे प्रहरीको फन्दामा

प्रकाशित मिति:

बुटवल  – रुपन्देहीका बिभिन्न स्थानबाट चोरी भएका मोटरसाईकल सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीका बिभिन्न स्थानमा मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवनकुमार पुन मगर तथा रुपन्देहीकै देवदह नगरपालिका वडा नं. ११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी गराउनु भयो ।

प्रहरीले उनीहरुको साथबाट लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल, लु १६ प ४२१३ नम्बरकोे स्कुटी, लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल, लु ३३ प ३०५ नम्बरको एभेन्जर मोटरसाईकल र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल बरामद गरेको छ । यहि फागुन १ गते रातीको समयमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ्मा राखेको लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । उक्त मोटरसाईकल खोजी गर्ने क्रममा प्रहरी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ रेहरा स्थित धर्मेन्द्र चमारको आफ्नै घरमा लु ३२ प ९२५९ नम्बरको पल्सर सहित फेला पारेपछि खोजी अपरेस चलाएको प्रहरीले बाँकी मोटरसाईकल चोरी गरेर लैजाँदै गर्दा बुटवल उपमहानगरपालिका वडा ११ देवीनगरबाट पक्राउ गरिएको प्रनाउ भट्टराईले बताउनु भयो ।

लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल गत १ गते राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको पार्किङ् स्थलबाट हराएको थियो । त्यस्तै गत आईतबार आफ्नै घरमा पार्किङ गरेर राखेको लु १६ प ४२१३ नम्बरकोे स्कुटी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीबाट चोरी भएको थियो भने सोही दिन बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा आफ्नै घरमा पार्किङ्मा राखेको लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।

आफ्नो आफन्तको मोटरसाईकल अस्पताल परिसरबाट हराएपछि बुटवल पुरानो बसपार्कका होटल व्यबसायी लेखनाथ भण्डारीको समेत पहलमा प्रहरीले खोजी अभियान अंगाडी बढाएको हो । ‘अस्पताल परिसरबाट हराएपछि पार्किङ्मा राखेका मोटरसाईकलको दायित्व अस्पतालले लिनुपर्ने हो ।’ उहाँले भन्नुभयो–‘तर अस्पताल प्रशासन आफ्नो दायित्वबाट पन्छिन खोज्यो ।’

आफूले अस्पताल प्रशासनलाई दायित्वबोध गराएपछि मात्रै सिसिटीभि फूटेज हेर्ने र अनुसन्धानमा सहयोग गरेको उहाँले बताउनु भयो । यस बिषयमा अस्पताल प्रशासनलाई दायित्वबोध गराउन आवश्यक रहेको उहाँको भनाई छ । उनिहरुको साथबाट प्रहरीले बरामद गरेको लु ३३ प ३०५ नम्बरको एभेन्जर र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल र पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । महंगो मल्यमा किनेका मोटरसाईकल चोरी गरेर १५/१६ हजार रुपैंयामा बिक्रि गर्ने गरेको समेत पाईएको प्रहरीले जनाएको छ ।