प्रजातन्त्र दिवशमा प्रदेश ५ का मुख्यमन्त्री को शुभकामना

प्रकाशित मिति:

प्रजातन्त्र दिवसको शुभकामना

आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुप्रति सुख, शान्ति, समृद्धि र उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको हो ।

फक्रदै गरेको लोकतान्त्रिक व्यवस्था जोगिन नसक्दा अन्ततः मुलुक पुनः तीन दशक तानाशाही पञ्चायती व्यवस्थाको अध्याँरोमा रुमलियो । प्रजातन्त्रका लागि निरन्तर आन्दोलन अघि बढ्यो । अन्ततः पञ्चायती व्यवस्थाको अवसान भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग पनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग २०६२।०६३ को जनक्रान्तिपछि पुरा हुन संभव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान अनुसार संघीय शासन प्रणाली विधिवत रुपमा स्थापित भएको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दती र शैलीका रुपमा स्थापित गर्न आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन्,लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन् । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनका लागि दृढ संकल्पित छौं ।

प्रदेश सरकार समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर समृद्धिको अभियानमा अघि बढिरहेको छ । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान दिन प्रतिबद्ध छौं । प्रजातन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।अन्त्यमा प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ फागुन ७