प्रचण्डको दावी,राष्ट्रिय हितमा एमसीसी पास हुन्छ

७ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भने ।नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।” पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाए ।

कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए । पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उनले भने, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।” नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया