राममणिका चारजना सञ्चालकले दिए सामूहिक राजीनामा

८ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
41 Shares


तिलोत्तमा – क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै राममणि बहुमुखी क्याम्पस मणिग्रामका चारजना सञ्चालक समिति सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् । योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउँदा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख बनाइएको र अन्य प्रशासनिक काम कारवाही पनि एकलौटी ढंगले चलाउन खोजेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।यसरी सामूहिक राजीनामा दिने सञ्चालकहरुमा गोपाल भट्टराई, यज्ञ गैरे, नारायण रेग्मी र मिनाक्षी न्यौपाने छन् । उनीहरुले क्याम्पस परिसरमै बिहीबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।मंसिर ७ गतेको क्याम्पस सभाले रोमणिप्रसाद पाठकलाई सञ्चालक समितिको अध्यक्ष चुनेको थियो । पुर्व सहमति अनुसार पाठकलाई सञ्चालक समिति अध्यक्ष बनाइएको तर अध्यक्ष बनिसकेपछि सहमतिविपरित अघि बढेकाले राजीनामा दिएको गोपाल भट्टराईले बताए । अध्यक्ष पाठकले नेपाली काँग्रेस र नेकपाको कोटाबाट चार–चार जना सदस्य मनोनीत गरेका थिए । राजीनामा दिएका सञ्चालक समिति सदस्य भट्टराईले क्याम्पस प्रमुख मोहन शर्माले राजीनामा दिएपछि वरिष्ठताका आधारमा डा. खगराज शर्मालाई

क्याम्पस प्रमुख बनाउनुपर्नेमा तारा प्रसाद पराजुलीलाई बनाएर राजनीतिक रंग दिन खोजेको बताए ।“हामी पार्टीगत भन्दा पनि सामाजिक रुपमा क्याम्पसलाई अघि बढाउनुपर्छ भन्यौं, तर अध्यक्ष राजनीतिक ढंगले अघि बढ्न खोज्दा राजीनामा दिन बाध्य भयौं”–उनले भने। क्याम्पसका हरेक निर्णय विधि र प्रक्रिया अनुसार गर्नुपर्नेमा अध्यक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा समस्या आएको राजीनामा दिएका अर्का सञ्चालक सदस्य यज्ञ गैरेले बताए । सञ्चालक समिति गठनमा एक पक्षलाई बेबास्ता गर्दै अघि बढ्न खोजिएको भन्दै उनले क्याम्पसलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए ।पत्रकार सम्मेलनमा अर्का सञ्चालक नारायण रेग्मीले क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन आफूहरुले पनि ठूलो योगदान पु¥याएको भन्दै शैक्षिक केन्द्रमा राजनीतिक रंग दिन नहुने बताए ।तर क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाठकले भने सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले सञ्चालक समिति गठन गरिएको र क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने नहुने बताए । “पटक पटक छलफलमा बोलाउँदा उहाँहरु आउनुभएन, लामो समय सञ्चालक समिति सदस्य मनोनयन नगरी बस्ने कुरा भएन”–उनले भने–“क्याम्पस प्रमुख नियुक्तीमा सिनियर र जुनियर भन्ने कुनै नियम छैन, आवश्यकता अनुसार जसलाई पनि बनाउन सकिन्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया