विद्यार्थीको नतिजामा गडबडी प्रकरण : त्रुटि सुधार्न राष्ट्रिय परीक्षा बोर्डमा पत्राचार

प्रकाशित मिति:

असोज २५, २०७५ जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय जनकपुरले आफ्नो त्रुटिलाई स्वीकार गर्दै पीडित विद्यार्थीको परीक्षाको परीक्षाफल सच्याउन केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ ।

जनकपुरधामका एक विद्यार्थीले ११ कक्षाको व्यवस्थापन संकायको परीक्षा दिएको भएपनि परीक्षाफल विज्ञान संकायमा आएको समाचार लोकान्तरले प्रकाशित गरेको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थी सुमितकुमार मिश्राले आवेदन फारम, परीक्षा फारम व्यवस्थापन संकायमा भरेका थिए । उनले परीक्षा पनि व्यवस्थापन संकायका सबै विषयको दिएको थिए । तर, परीक्षाफल प्रकाशित भएपछि उनको परिणाम व्यवस्थापन संकायमा आएन र विज्ञान संकायमा आयो ।

असोज २३ गते जनकपुर शाखाका कार्यालय प्रमुख चुडामणि फुयालले परीक्षा बोर्डको केन्द्रीय कार्यालयमा गरेको पत्राचारमा लेखिएको छ, ‘बैशाख र जेठमा सञ्चालित ११ र १२ कक्षाको वार्षिक परीक्षामा विद्यार्थीको नतिजा प्रकाशित हुँदा समूह विषय फरक भई अनुपस्थित देखिएको तर सम्बन्धित केन्द्रबाट आवश्यक प्रमाणसहित उपस्थित भएको पत्र प्राप्त भएको हुँदा निजको प्रवेशपत्र, लब्धांक पत्र र हाजिरी संलग्न राखी आवश्यक कारबाहीको लागि अनुरोध छ ।’

विद्यार्थी सुमित मिश्रको परीक्षाको प्रकाशित नतिजामा विषय कोड ००२, ११०, ११२, ११४, ११६ भएकोमा ००२, ००३, १२४, १२६, १३० हुनुपर्ने भन्दै परीक्षा बोर्डले आफ्नो कमजोरी स्वीकार गरेको छ । कार्यालयको रेकर्ड अनुसार रजिस्ट्रेसन अनुसार नै परीक्षा फारममा विषय भएको तर इन्ट्री रुजु गर्ने क्रममा त्रुटि भएको भन्दै परीक्षा बोर्ड केन्द्रीय कार्यालयलाई शाखा कार्यालय जनकपुरले गरेको पत्राचारको कैफियतमा उल्लेख छ ।

परीक्षा फारम कम्यूटरमा इन्ट्री गर्ने शाखा कार्यालयका कम्प्यूटर सहायक विरेन्द्र यादवले भने, ‘मानिस नै हो म । एक जना मात्र कम्प्यूटरमा काम गर्छु, धेरै कामको बोझले गर्दा गल्ती हुन गयो ।’ चिठीपत्र टाइपदेखि रुजु गर्ने, सच्याउने सबै काम एक्लैले गर्नुपर्दा गल्ती भएको उनले बताए ।

‘सबै कुरा ठिकै थियो तर कम्प्यूटरमा इन्ट्री गर्दा भूलबश व्यवस्थापनको ठाउँमा विज्ञानका विषय कोड इन्ट्री हुन गएछ, त्यो कुरा परीक्षाको परिणाम आएपछि विद्यार्थीले भन्दा मात्र थाहा हुन गयो,’ कम्प्यूटर सहायक यादवले भने, ‘मैले जानाजान विद्यार्थीको भविष्य खराब होस् भनेर गरेको होइन, अन्जानमा त्रुटि हुन गयो ।’

महोत्तरीका प्रदेशसभा सदस्य भरत साह समेत अर्काे त्रुटिबारे सोधपुछ गर्न शाखा कार्यालय पुगेका थिए । महोत्तरीको कान्तिबजार गौशालाको रामाबि कान्तिबजारका ११ कक्षाका विद्यार्थी प्रणय शाहले विज्ञान संकायमा परीक्षा दिँदा हुँदै नभएको विषय अनिवार्य नेपाली समेत परीक्षाफलमा राखेर अनुपस्थित देखाई जीपीएमा कुनै पनि ग्रेड नरहेको परिणाम आएको सांसद साहले गुनासो गरे ।

‘जब कि विज्ञान संकायमा ११ कक्षामा अनिवार्य नेपाली हुँदै–हुँदैन,’ सांसद साहले भने, ‘प्रवेशपत्र, रजिस्ट्रेसन फारम, परीक्षा फारम सबै भर्दा नेपाली विषय भरिएकै थिएन । तर, परीक्षा बोर्डको लापरवाहीले गर्दा त्यो विषय पनि राखिएको छ ।’ विज्ञान संकायमा ११ कक्षामा अनिवार्य नेपाली विषय नहुने भएपनि शाखाबाट डाटा इन्ट्री गर्दा नेपाली विषय समेत इन्ट्री गरेर केन्द्रीय बोर्डमा पठाइएको साहले बताए । ‘यसका अतिरिक्त नामको अंग्रेजीमा स्पेलिङ समेत गल्ती गरिएको छ,’ उनले लोकान्तरसँग भने ।

विद्यार्थीको नाम, रजिस्ट्रेसन नम्बर, परीक्षाको विषय, विद्यार्थीको जन्ममिति सबै फरक परिरहेको घटना शाखाका कर्मचारीको लापरबाहीका कारण हुने गरेको छ । त्रुटि सच्याउन पीडित विद्यार्थीले धेरै नै समस्या झेल्नुपरेको छ ।

कार्यालय प्रमुख फुयालले त्यसो हुनुमा कतिपय विद्यालय पनि जिम्मेवार रहेको बताउँछन् । ‘विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारम भर्नका लागि एउटा म्याद तोकिएको हुन्छ, तर अन्तिम समयमा आएर मात्र आवेदन फारम बुझाउने गर्छन् । फेरि दोब्बर दस्तुर बुझाउँदा पनि अन्तिम म्यादको अन्तिम समयमै आएर एकै पटक हजारौं फारम सहितको फाइल लिएर जनकपुरका विद्यालयहरू आउने गर्छन्,’ फुयालले भने, ‘त्यस्तो अवस्थामा दर्ता नगर्दा कार्यालय नै थुन्ने, राजनीतिक पावर लगाउने, धाकधम्की दिने गरेका कारण बाध्य भएर एकै दिन हजारौं फाइल कम्प्यूटरमा इन्ट्री गर्नुपर्ने हुन्छ । त्यस्तै अवस्थामा त्रुटि हुन जान्छ ।’

‘शाखाबाट कम्प्यूटरको सर्भरमा इन्ट्री भएर केन्द्रीय कार्यालय पुगिसकेपछि केन्द्रीय कार्यालयले इन्ट्रीलाई लक गरिदिन्छ,’ उनले भने, ‘एकै दिन कामको चाप बढेर आउँछ, राति १२ बजेसम्म काम गर्दा मानवीय त्रुटि भइहाल्छ ।

@lokaantar