कांग्रेस नेता अभिषेक प्रताप शाहले भने : बुद्धको जन्मस्थानलाई लिएर आफूविरुद्ध गलत प्रचार भयो

प्रकाशित मिति:

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता अभिषेक प्रताप शाहले बुद्धको जन्मस्थानलाई लिएर आफूविरुद्ध गलत प्रचार भएको बताएका छन् ।

राजधानीबाट प्रकाशित हुने सञ्चारमाध्यमले चरित्र हत्या गर्ने गरेर विवादमा तानेको भन्दै सांसद शाहले अपात्ति जनाए । कांग्रेसका सांसद शाहले आफूले कहिल्यै पनि गौतम बुद्ध भारतमा जन्मिएको भनेर कुनै अभिव्यक्ति नदिएको तथा त्यस्ता कार्यक्रमहरूमा सहभागी नै नभएको बताएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट विजयी सांसद शाहले भने, ‘गौतम बुद्धबारे म सँग एक पटक पनि नसोधेर आपत्तिजनक कुराहरू लेखिएको छ । नाम चलेका सञ्चारमाध्यमले समाचार लेख्दा एक पटक मसँग बुझेको भए सबै भनिदिन्थेँ ।’

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा कांग्रेसका सांसद शाहलाई विशिष्ट अतिथिका रूपमा बोलाइएको थियो । सांसद शाह पनि सो कार्यक्रममा सहभागी भएका थिए । तर, केही व्यक्तिहरूले कांग्रेसका सांसद शाहको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण गराएको उनको भनाइ छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा सांसद शाह सो कार्यक्रममा सहभागी हुन पुगेका थिए । कार्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्नेबारेमा कुनै किसिमको प्रचार प्रसार वा अभिव्यक्ति कसैले पनि नदिएको सांसद शाहले बताए ।

‘गौतम बुद्धका बारेमा यस्ता झुठ कुराहरू किन मेरो नामसँग जोडेर समाचार आए आफै चकित परेको छु’, कांग्रेसका सांसद शाहले भने, ‘गौतम बुद्धका बारेमा मैले गतल कुरा बोल्ने कुरै हुँदैन । र, गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर गरिने कुनै पनि कार्यक्रममा सहभागी हुनु भनेको सरासर गलत कुरा हो ।’

‘म आफै बुद्ध भूमिमा जन्मेको मान्छे, यस क्षेत्रको विकास र बुद्धको जन्मभूमिलाई अन्तर्राष्ट्रियकरण गर्नमा लागेको मान्छे हुँ । यसैमा केही मानिसहरूलाई मन परेको छैन’, सांसद शाहले भने, ‘गलत प्रचार गरेर बुद्धको जन्मस्थललाई विवादित बनाएर राजनीति गर्न खोजिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न भएको बिमस्टेक सम्मेलनमा समेत बुद्ध नेपालमा जन्मेको अभिव्यक्ति दिइसकेका छन् ।