११ ,१२ का विद्यार्थीका लागि खुशीको खबर :’सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय’

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं  – देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् ।

नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ । एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ । यसरी आन्तरिकमा २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेको समग्रमा डी प्लस ग्रेड आउँछ । डी प्लस ल्याउने विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछ ।

अहिलेसम्म कक्षा ११ र १२ मा बाह्य र आन्तरिक परीक्षामा छुट्टाछुट्टै अंक राख्ने गरिएको छ । सैद्धान्तिक परीक्षामा समेत डी प्लस ल्याएका विद्यार्थीको मात्र राष्ट्रिय परीक्षा बोर्डबाट ट्रान्सक्रिप्ट जारी हुन्छ । सैद्धान्तिक र आन्तरिकको एउटै कोड नम्बर राख्नु र दुवैको अंक जोडेर एकीकृत रूपमा ग्रेड प्राप्त गर्ने व्यवस्थाले निकै कमजोर विद्यार्थीसमेत उच्च शिक्षाका लागि दाबेदार हुने विज्ञको दाबी छ । कक्षा ११ मा आगामी शैक्षिकसत्रदेखि र कक्षा १२ मा एक वर्षपछि नयाँ पाठ्यक्रम लागू हुँदै छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेल भन्छन्–शिक्षकलाई विश्वास गर्नुपर्छ

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले हरेक विषयको आन्तरिक र बाह्य मूल्यांकन जोडेर ग्रेडिङ गर्ने बताए । विद्यालयका शिक्षकले गर्ने आन्तरिक मूल्यांकन पनि विश्वसनीय हुन्छ भन्ने विश्वासका आधारमा एग्रिगेटमा ग्रेडिङ गर्न लागेको बताए । ‘२५ प्रतिशत आन्तरिक मूल्यांकन छ, हामीले आधार तय गर्ने हो, कार्यान्वयनमा शिक्षकलाई विश्वास गर्नुपर्छ,’ महानिर्देशक पौडेलले भने, ‘आन्तरिकमा ल्याउने अंक पनि विश्वसनीय हुनुपर्‍यो ।’

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्–यो नचाहिने काम हो

सैद्धान्तिक र प्रयोगात्मक जोडेर पास गराउनु नचाहिने काम हो । सैद्धान्तिक र प्रयोगात्मक दुवैमा पास हुनुपर्छ भन्ने मेरो मान्यता हो । मेरो के जान्छ र भनेर नम्बर दिने संस्कार परिवर्तन नहुँदासम्म छुट्टाछुट्टै पास हुने व्यवस्था गर्नुपर्छ । अब कक्षा ११ र १२ मा २५ नम्बर प्रयोगात्मक राखिएको छ । त्यो नम्बर दिन शिक्षकले कुनै कन्जुस्याइँ गर्दैनन् । सैद्धान्तिकमा ५/१० नम्बर ल्याए पनि पास भयो । धेरै विद्यार्थी फेल भए भनेर त्यसको आलोचनाबाट जोगिन शिक्षा मन्त्रालयले ल्याएको नीति हो । धेरै विद्यार्थी पास गराउन शिक्षकका हाकिमको मानसिकताले काम गरेको हो ।

धेरै विद्यार्थी फेल हुनु भनेको सिस्टम प्रभावकारी छैन भन्ने हो । कतिपय दाताहरूले पनि प्रभाव पार्ने गरेका छन् । नेपालमा शिक्षामा लगानी गरेका छन्, त्यसको उपलब्धि देखाउन नीति नै परिवर्तन गरिदिन्छन् । अंकलाई दाताकै दबाबमा लेटर ग्रेडिङमा मूल्यांकन गर्न थालियो । त्यसले कोही पनि फेल हुँदैन भन्ने भ्रम सिर्जना गर्‍यो । पहिले प्रयोगात्मक र सैद्धान्तिकमा छुट्टाछुट्टै पास हुनुपर्थ्यो, अहिले दुईवटाको जोडेर पास हुने प्रणाली स्थापित गरिँदै छ । यसले विद्यार्थीको ज्ञान र सीप बढेको छैन । केही वर्षयताको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्टअनुसार विद्यार्थीको सिकाइ उपलब्धि प्रत्येक वर्ष घटिरहेको छ । हाम्रा विद्यार्थीको क्षमता न सैद्धान्तिक रूपमा बलियो बन्यो, न प्रयोगका हिसाबमा व्यावहारिक बन्यो । नयापत्रीकामा भवानीस्वर गौतमले लेख्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया