प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन नगरेको ?

प्रकाशित मिति:

सबलपोस्ट/काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाले घुस मागेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका एजेन्ट विजयकुमार मिश्रबीच भएको कुराकानी २ महिना अगाडि नै सुनेको विषयमा प्रधानमन्त्री ओलीले संसदमा उभिएर जवाफ दिनुपर्ने सांसद थापाको माग छ ।

‘सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेखनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं । यो वार्तालाप सम्माननीय प्रधानमन्त्रीज्युले केही महिना अगाडि सुन्नुभएको अनुमानहरु होइन, दावीहरु सञ्चारमाध्यममा छापिरहेका छन्, बजिरहेका छन्,’ मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले भने, ‘यसको बारेमा संसदमा आएर, उभिएर, आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्युसँग छ कि छैन ?’ उक्त विषयमा जवाफ दिन भनेर संसदले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने पनि थापाले माग गरे ।

प्रधानमन्त्रीज्युले डाँडाकाँडा डुलेर बस्ने होइन, ताल तलैया हेरेर बस्ने होइन, सदनमा आउनु पर्छ । यहाँ उभिनु पर्छ । हाम्रो प्रश्नको सामना गर्नु पर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्ने छौं,’ थापाले भने, ‘मसभामुख महोदयलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्नका लागि आग्रह गर्दछु ।’ उक्त अडियो प्रकरणबारे प्रधानमन्त्रीलाई थाहा नै थिएन भन्दै उनका सहयोगीले बोल्न थालेको उल्लेख गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन । तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिरहनुभएको छ, उहाँलाई थाहा थिएन । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली, प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ, यी सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईंलाई के थाहा छ ?’

सांसद थापाले सेक्युरिटी प्रेस मात्र नभइ स्याटेलाइट स्थापना, नेपाल टेलिकमको फोरजी विस्तारलगायत आधा दर्जन ठेक्काबारे प्रधानमन्त्रीलाई सबै कुरा थाहा भए पनि परिस्थिति नियन्त्रण बाहिर आएपछि मात्रै बाँस्कोटालाई बलिको बोको बनाइएको भन्दै नागरिकले प्रश्न गर्न थालेका थापाको भनाइ छ ।

‘प्रधानमन्त्रीजी तापाईंलाई थाहा छ नागरिकहरु के भन्दै छन्, यो सेक्युरिटी प्रेसको ठक्का मात्रै होइन । स्याटेलाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबरको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, विद्यालय सबै ठाउँमा निःशुल्क इन्टरनेट पुर्‍याउने यी सबै कुरा सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बास्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दै छन् । तपाईंलाई थाहा छ ?’ थापाले भने, ‘प्रधानमन्त्रीजी भ्रष्टाचारीको अनुहार हेर्दिन् भनेर धेरै पटक भन्नुभएको छ । तर, नागरिकहरु प्रश्न गरिरकेका छन्, बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दै छन् । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?’

सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताले खुला रुपमा विरोध गर्न नसकेपनि आन्तरिक रुपमा प्रधानमन्त्रीका काम–कारबाहीप्रति उनीहरु असन्तुष्ट रहेको विषय पनि कांग्रेस सांसद थापाले सुनाए । ‘प्रधानमन्त्रीजी तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो श्वरले बोल्न सक्दैनन् । तर, कहिलेकाँहि यहिँ संसदको लविमा भेट्दै गर्दा सानो श्वरमा भन्ने गर्छन् हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादी देखिनु’भो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरेपनि यतीवादी मात्रै देखिन थाल्नु’भो भनेर भन्छन् प्रधानमन्त्री जी तपाईंलाई थाहा छ ?’

पछिल्लो प्रकरणबाट प्रधानमन्त्री ओलीले शासन गर्ने वैधानिकता र क्षमता गुमाइसकेको पनि थापाले टिप्पणी गरे । ‘प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ, के थाहा छैन, मलाई थाहा छैन, मलाई थाहा पाउनु पनि छैन । तर मलाई यति मात्रै थाहा छ कि यदि तपाईंले यी सबै कुरा थाहा पाएर पनि थाहा नपाएको जस्तै गर्नुभएको छ भने त्यो पाप हो । तपाईंले केही पनि कुरा थाहा पाउनु भएको छैन भने अक्षमता हो,’ थापाले भने, ‘संख्या त तपाईंसँग होला प्रधानमन्त्रीजी, तर शासन गर्ने वैधानिकता, क्षमता तपाईंले गुमाइसक्नुभएको छ । त्यसैले प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’