नयाँ पार्टी खोलेर भ्रष्टहरुलाई सफाचैट गर्ने संकल्पमा पूर्वडीआईजी रमेश खरेल

प्रकाशित मिति:

काठमाडौं – रमेशप्रसाद खरेल सबै नेपालीहरुको मुखमा झुण्डेको नाम हो । भ्रष्टाचारका विरुद्ध लामो समय देखि आवाज उठाउँदै आउँनु भएका नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले अब नयाँ दल खोल्‍ने पक्का भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नुभएको छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच हुने उहाँले जानकारी दिनुभयो । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताउनु भएको छ ।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिनु भएको थियो । खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् । अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् । पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ ।