मगर दिवसको अवसरमा भोली फागुन १५ गते सार्वजनिक बिदा

प्रकाशित मिति:

पाल्पा – पाल्पामा ५० प्रतिशतभन्दा बढी जनसंख्या मगर समुदायको छ। अझ जिल्लाका केही स्थानीय तह पनि छन् जहाँ अधिकांश मगर समुदायका मानिस बसोवास गर्दछन्। यही भएर जिल्लाका १० वटा स्थानीय तहमध्येका आधा स्थानीय तहले यही आउँदो फागुन १५ गते मगर दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

जिल्लाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, वगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाले ३८औं मगर दिवसको अवसर पारेर गाउँपालिका र नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार सो गाउँपालिकाभित्र ८७ प्रतिशत मगरको जनसंख्या छ। गाउँपालिकाले सो अवसरमा मित्यालको झ्याल्टुक खेल मैदानमा प्रत्येक वडामा विभिन्न वडाका झाँकीसमेत प्रस्तुत गर्ने र अन्य कार्यक्रमसमेत आयोजना गर्ने गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो।

त्यस्तै वगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद वस्यावले गाउपालिकाको वैठकले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो। त्यसैगरी रामपुर नगरपालिकाका अध्यक्ष रमणबहादुर थापा, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले पनि सो दिन गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने र विभिन्न कार्यक्रमका साथ मगर दिवस मनाउने निर्णय भएको बताउनुभएको छ।