स्वर्गिय पत्रकार देव पाटाको स्मृतिमा फोनिजद्वारा रक्तदान

प्रकाशित मिति:

बुटवल – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष पत्रकार स्व. देव बहादुर पाटाको ११ औं स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बुधबार बुटवल रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमूख अतिथि प्रदेश ५ सभा सदस्य तुलाराम घर्तीमगर (बसन्त) ले रक्तदान गर्नु भनेको कसैको जीवन बचाउनु भएकाले रक्तदान गर्ने कार्यमा सबैलाई प्रेरित गर्नुपर्ने बताउनु् भयो । फरक प्रसंगमा उहाँले पत्रकार जगतले समाजलाई अगाडि बढाउने मियोको भुमिका खेल्नु पर्ने बताउनु भयो । पत्रकारले हरेक क्षेत्रलाई सकारात्मक आलोचना सहित सूचना सम्प्रेषण गर्नुपर्र्ने उहाँको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डेले व्यवसायिक पत्रकारिताका संगसंगै सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि पत्रकारहरु अग्रसर हुनु राम्रो कार्य भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पाटाका सहकर्मी पत्रकार एवं समाजसेवी अशोक पुनले पत्रकार स्व. देव बहादुर पाटाको साहसीपूर्ण व्यवसायिक पत्रकारिताको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु, प्रदेश ५ का अध्यक्ष मिलन गाहा, नेफिन रुपन्देही सचिव चित्रलाल तुलाचन, नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर अध्यक्ष अरुण कुमार श्रेष्ठ, फोनिज रुपन्देही जिल्ला उपाध्यक्ष दीप्ु मगर लगायतले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार स्व. देव बहादुर पाटा पत्रकारिता अक्षयकोषका लागि समावसेवी नरजंङ्ग गुरुङ्गले रु. पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

राज्यसत्ता साप्ताहिकका सम्पादक रहेका पत्रकार स्व. देव बहादुर पाटाको वि.स. २०६५ साल फागुन १४ गते मोटरसाइकल दुर्घट्नामा परी निधन हुनुभएको थियो । उहाँ सवार मोटरसाइकललाई बुटवल लखनचोक चौराहमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै उहाँको निधन भएको थियो ।