सुजाता भन्छिन – देश छाड्ने कल्पना पनि गर्न सक्दिनँ

प्रकाशित मिति:

काठमाडौं  – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पना सम्म गर्न नसक्ने बताएकी छिन् । आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन् । ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ रिपोर्टर्स नेपालले तपाईं देश छाडेर बेलायत बस्न लागेको खबर आएको छ नि भनेर सोध्दा पूर्व उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ?’ आफूले कठिन परिस्थितिमा समेत देश नछाडेको औल्याइन् । विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेको बताइन् । उनले भनिन्, ‘मर्नुपरे पनि नेपालमै मरौंला ।’

आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उनको भनाई थियो । नेपाल र नेपालीको मायाले आफू क्यान्सर मुक्त भई नयाँ जीवन पाएको बताइन् । उनले भनिन्, ‘मलाई नेपाली दाजुभाई तथा दिदीबहिनीले निकै माया गर्नुभएको छ । उहाँहरुको मायाले नयाँ जीवन पाएकी छु । म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु ।’ नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन् । उनले भनिन्, ‘विश्वको सबैभन्दा सुन्दर देश नेपाल हो र मेरा लागि सबैभन्दा खुशी भएर बाँच्न सक्ने देश नेपाल हो ।’ नेपाल सुन्दर भएपनि राजनीतिक नेतृत्वले सही निर्णय लिएर अगाडि बढ्न नसक्दा जनताले दुःख पाइरहेको उनको भनाई थियो ।

देश र जनताको सेवा गर्ने आफ्नो मन देखिएको चाहना रहेको बताइन् । उमेर बढ्दै जाँदा पनि सक्रिय जीवनयापन गरिरहेको उनको भनाई थियो । सामाजिक काममा आफू बढी केन्द्रित भएको र देशले आवश्यकता ठानेमा राजनीतिक नेतृत्व लिन पनि तयार रहेको बताइन् । उनले भनिन्, ‘नेपाली काँग्रेसको सभापति बनेर नेतृत्व लिन अगाडि बढेकी छु ।’

आफूले निरंकुशतासँग देशमै बसेर लडेको स्मरण गराउँदै कोइरालाले देशका लागि अझै योगदान गर्न तयार रहेको बताइन् । आफूलाई नेपालमा जुन प्रतिष्ठा र इज्जत मिलेको छ त्यसको गुन तिर्न बाँकी रहेको बताइन् । उनले भनिन्, ‘तपाईंहरुले देखिरहनुभएको छ कि मैंले पदमै बसेर मात्र शक्तिशाली भइन्छ भन्ने ठानेकी छैन, देशका लागि आफू जुन स्थानमा रहिन्छ त्यहींबाट पनि सेवा गर्न सकिन्छ ।’ सकारात्मक सोच र चिन्तनका साथ आफू नेपालमा बसेर सेवाभावका साथ सक्रिय भइरहने बताइन् ।