कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


पोखरा – आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी(गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि गर्यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

पोखरा महानगरपालिका–२७ स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले बनाएको विद्युतबाट चल्ने गाडी (गो कार्ट) चलाउँदै उक्त वडाका वडाध्यक्ष पूर्णकुमार गुरुङ । उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाउनुभयो । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गर्नुभयो ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउनुहुन्छ । हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया