अर्थमन्त्रीमा युवराज खतिवडा नै निरन्तर

प्रकाशित मिति:

                                                                      पत्रकारलाई भने : २१ गते सपथ छ, उतै भेटौंला

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चर्किएको विवादबीच अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने पक्कापक्की भएको छ। यही फागुन २० गतेदखि उनी राष्ट्रियसभाको सदस्यका रुपमा रहने छैनन्। राष्ट्रिय सभामा दोहोरिने निश्‍चित नभए पनि अर्थमन्त्रीमा भने उनै खतिवडा निरन्तर हुने भएका छन्। बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले २१ गते सपथ भएकाले त्यही दिन भेट हुने जानकारी पत्रकारहरुलाई दिए।

‘२१ गते शपथ लिँदैछु, त्यही दिन भेटेर कुरा गरौंला’, पत्रकारहरुलाई खतिवडाले भने। पत्रकारहरुले राष्ट्रिय सभा र अर्थमन्त्रीबारे प्रश्‍न गरेपछि उनले घुमाउरोरुपमा २१ गते सपथ लिने बताए। ‘अहिले केही नभनौं, २१ गते सपथ तोकिएको छ, त्यही बेला कुरा गरौंला’, उनले दोहोर्‍याउँदै भने। नेकपाको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने कोटामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि पार्टीको विवाद सतहमा आएको छ। यस्तोमा राष्ट्रिय सभामा फागु २० गते म्याद सकिए पनि आगामी ६ महिनासम्म खतिवडाले नै अर्थमन्त्रालय चलाउन पाउनेछन्।

यो भनेको उनले नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउन पाउनेछन्। म्याद सकिएको ६ महिनासम्ममा सरकारले खतिवडालाई अर्को विकल्प खोजेर राष्ट्रियसभामा निरन्तरता दिनुपर्ने हुन्छ। नेकपाले सर्वसम्मतरुपमा वामदेवलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ। तर यो निर्णयमा पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउँदै खतिवडालाई नै निरन्तरता दिने जनाउ बुधबारै दिइसकेका छन्।