कञ्‍चनपुरमा दम्पतीको हत्या : आमाबुबाको मृत्युपछि एक्लिइन् ७ महिने छोरी

प्रकाशित मिति:

कञ्चनपुरमा आमाबुबाको हत्या भएपछि ७ महिने छोरी टुहुरी भएकी छिन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २२ वर्षीय धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएपछि ७ महिने छोरी टुहुरी भएकी हुन् । जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले छोरीलाई मामाको जिम्मा लगाइएको छ ।

एसपी मरासिनीले घटनाको अनुसन्धान जारी रहेको बताए । मरासिनीले भने, ‘‘घटनास्थलबाट प्रमाण संकलन लगायतका काम भएका छन् । छिट्टै हत्यारासम्म पुग्छौं भन्ने लागेको छ । शवको पोष्टमार्टम गर्ने तयारी पनि छ ।’’ हत्याको कारण भने त्यसै भन्न नसकिने भए पनि केही शंकित व्याक्तिहरुको सूची भने तयार पारिएको बताए ।

भण्डारीले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि साढे २ वर्षअघि धनादेवीसँग दोस्रो विवाह गरेका थिए । बिहीबार दिउँसो भण्डारी दम्पतीको शव घरभित्रै विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो । एसपी मरासिनीका अनुसार भण्डारी दम्पती सामान्य परिवारका सदस्य हुन् । अनुसन्धानकै लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत लगिएको थियो । – बाह्रखरी बाट