बामदेव स्वयंले चुनाव नलड्ने भनेपछि कुरै सिद्धियो : प्रचण्ड

प्रकाशित मिति:

असोज २६ काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार नबनाउने निर्णयमा पार्टी पुगेको छ।

काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा दिएर गौतमलाई उम्मेदवार बनाउने तयारीको चौतर्फी विरोध भएपछि नेकपा पछि हटेको हो। नेकपाका अध्यक्ष प्रचण्डले विकास निर्माण कार्य छोडेर गौतमलाई उम्मेदवार बनाउने लफडामा नलाग्ने बताए। उनले भने, ‘वामदेव स्वयंले नै चुनाव नलड्ने भनेपछि सिद्धियो कुरा।’

प्रचण्डले काठमाडौंका सडकहरुमा केही महिनाभित्रै पिच गरिसक्ने दावीसमेत गरे। प्रधानमन्त्री र आफूले संकल्प गरेको बताउँदै प्रचण्डले भने, ‘काठमाडौं नयाँ बनाएपछि नेपाल नै नयाँ बनाउने कामको सुरुवात हुन्छ।’ नेकपाले सडक पिचलाई प्राथमिकता दिएको बताउँदै सरकार निर्माणलगत्तै वर्षा लागेकाले बाटोको सुधार गर्न नसकिएको उनको भनाइ थियो।

सरकारले गति बढाउने क्रममा रहेको बताउँदै प्रचण्डले पार्टी एकता र कम्युनिष्टको सरकार अवसरसँगै ठूलो चुनौती पनि भएको उल्लेख गरे। ‘विकासलाई गति दिनुबाहेक नेकपासँग कुनै विकल्प छैन’, उनले भने।

दुई अध्यक्षका बीचमा सरकारको समीक्षा गरिएको बताउँदै उनले विकासको आधार सरकारले तयार गरेको दाबी गरे। वर्तमान सरकारले भारतसँग महत्वपूर्ण समझदारी गरेको उल्लेख गर्दै उनले चीनसँगको पारवहन सम्झौताले नेपालको परिभाषा बदलिएको बताए। उनले भने, ‘नेपाल ल्यान्डलक्ड कन्ट्रीबाट ल्यान्डलिंक कन्ट्री भयो।’ प्रचण्डले सरकारको उक्त कार्यलाई सरकारले केही गरेन भन्नेहरुले गहिरो गरी सोच्न आग्रह गरे।

उनले वृद्धहरुको भत्ता बढाउनेतिर पनि दिमाग गएको बताए। आम नागरिकले देख्नेगरी केही महिना भित्रैमा शुसासनका कार्य गर्ने दाबी गर्दै उनले भने, ‘यो सरकारको एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आँउछ।’

कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको दसैं शुभकामना कार्यक्रम स्थलमा पुग्दा बाटोको दुरावस्था देखेर दुःख लागेको पनि उनले बताए।